काठमाडौं । नेपाली गायिका मेनुका पौडेल इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गरियो ।अडिसन चरणबाटै मेनुका नेपाली र भारतीय मिडियामा भाइरल समेत भएकी थिइन् । ‘छनोट भएका अन्तिम १५ जना प्रतिस्पर्धीलाई लिएर म खुशि छु’ शोका होस्ट हुसेन केजरीवालले टाइम्स अफ इण्डियासँग भने, ‘छनोट भएका सबै प्रतिस्पर्धी एकसे एक छन् ।’पछिल्लो एपिसोडमा समेत दमदार प्रस्तुति दिएकी मेनुकाको गायकीलाई जजले रुचाएका थिए । उनीहरुले यो प्रस्तुतिमा स्ट्यान्डिङ ओभेसन पनि दिए । मेनुकाले यो एपिसोडमा जजलाई उपहार समेत प्रदान गरेकी थिइन् ।

अडिसन चरणमा मेनुकाले ‘तुम्हारे बिना हमारे कोनो नही’को बोलको शाष्त्रीय भजन गाउँदै दर्शक र जजको मन जितेकी थिइन् । उनले यो प्रस्तुतिमा गोल्डेन माइक समेत जितिन् ।