जुम्ला । जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाले ल्याब सेवा सञ्चालनमा ल्याएको छ ।

यस गाउँपालिकामा चारवटा स्वास्थ्य संस्था छन् । चार स्वास्थ्य संस्थामध्ये छुमचौर स्वास्थ्य चौकी र पटमारा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरेको हो । स्थानीयस्तरकै स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन भएपछि दिसापिसाब, रगत र खकार परीक्षण गर्न सहज भएको छुमचौर स्वास्थ्य चौकीका इन्चार्ज लोकबहादुर रावलले बताए । उनले भने, ‘ल्याब परीक्षणबाट आएका रिपोर्टअनुसार यहीँबाटै रोगको उपचार गर्ने गरिएको छ तर अलि जटिल किसिमको रिपोर्टअनुसार उपचार गर्नुपरेको खण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सिफारिस गर्ने गरिएको छ ।’

त्यस्तै पटमारा स्वास्थ्य चौकीमा पनि ल्याब सेवा सञ्चालन गरिएको स्वास्थ्य चौकी इन्चार्ज कृष्ण बुढाले बताए । स्थानीयस्तरमै ल्याब सेवा सञ्चालन भएपछि सेवाग्राहीलाई सहज भएको छ ।

स्वास्थ्यकर्मीले नै पाएनन् जोखिम भत्ता

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । यहाँको पातारासी गाउँपालिकाका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् । गाउँपालिकाको पटमारा स्वास्थ्य चौकीका इन्चार्ज बुढाका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारले कोरोना महामारीमा जोखिम भत्ता दिन्छौँ भनेर हौस्याएर काममा खटाएको तर अहिलेसम्म जोखिम भत्ता उपलब्ध गराउने विषय कुनै चासो नदेखाएको बताए ।

यस गाउँपालिकाअन्र्तगत चारवटा स्वास्थ्य चौकीका ४२ स्वास्थ्यकर्मी र ६७ महिला स्वयंसेविका कोेरोना महामारीमा आफ्नो ज्यान जोखिममा राखेर खटिए पनि जोखिम भत्ता उपलब्ध नभएको इन्चार्ज बुढाले बताए । कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा खटिएबापत प्रतिमहिला स्वयंसेविका एकमुष्ट रु एक हजार ५०० उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको थियो तर अहिलेसम्म उपलब्ध नभएको उनको भनाइ छ ।

क्वारेन्टिन र हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिए पनि फिभर क्लिनिक र अन्य स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नभएको उनले बताए । गाउँघर क्लिनिक भत्ता, फिल्ड भत्ता र हजाड भत्ताबाट स्वास्थ्यकर्मी वञ्चित गरिएको गुनासो गरेका छन् । रासस