सुर्खेत । पदम वन युवा व्यवसायी तथा सुर्खेतका युवा नेता हुन् । सिद्धपाइला यातायात सेवा प्रा.लि.का अध्यक्ष तथा युवा संघ सुर्खेतका अध्यक्ष वन रहेका वनले लकडाउनका कारणले यातायात व्यवसायी सबैभन्दा बढी मारमा परेको बताएका छन् ।
सेतोपंछी अनलाइनसँगको कुराकानीमा वनले कोरोना भाइरस महामारीका कारणले यातायात मजदुर तथा साना व्यवसायीहरु अहिले भोकभोकै बस्नुपर्ने अवस्था आएको बताए । ‘स्वरोजगारमूलक रहेका अटो व्यवसायी र यातायात व्यवसायीहरु सबैभन्दा बढी मारमा परेका छन् ।’ उनले भने,‘यातायात व्यवसायी र मजदुर भोकभोकै मर्नुपर्ने अवस्था आएको छ ।’
कोरोना भाइरसका कारणले लकडाउन हुनुभन्दा अगाडी दैनिक पाँच सयदेखि हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको अहिले अवस्थामा उनीहरुको आम्दानी गुमेको पेट पाल्नसमेत समस्या भएको वनले जानकारी दिए । ‘गरिब तथा मजदुरहरुलाई अहिले पेट पाल्न नै समस्या भएको छ ।’ उनले भने,‘दुई चार पैसा कमाउनेको पनि आम्दानीमा ह्रास आएको छ ।’
यातायात व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर व्यवसाय संचालन गरेको र बैंक तथा वित्तिय संस्थाहरुले ऋणको ब्याजका लागि दैनिक व्यवसायीहरुलाई तनाब दिने गरेको वनले बताए । ‘व्यवसायीहरुले गाडीको किस्ता तिर्न सकेका छैनन् ।’ उनले भने,‘बैंक तथा वित्तिय संस्थाहरुले दिनको १० पटक फोन गरेर व्यवसायीहरुलाई मानसिक तनाव दिने गरेको छ ।’
सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई लकडाउन अवधिमा बैंक तथा वित्तिय ऋणको ब्याज मिनाहाको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । ‘सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई लकडाउन अवधिमा यातायात व्यवसायीबाट लकडाउन अवधिको ऋणको ब्याज मिनाहाको व्यवस्था मिलाउन आवश्यक रहेको छ ।’ उनले भने,‘यातायात व्यवसायीको मर्का नै बैंक तथा वित्तिय संस्थाले बुझेँ न सरकारले बुझ्यो ।’
यातायात व्यवसायीका लागि सडक नै अहिले समस्याको बिषय भएको कारणले सरकारले सडक सुधारका लागि पहल चाल्नु पर्ने वनले बताए ।
सुर्खेतका अटो व्यवसायीहरु अहिले दोहोरो करको मारमा रहेको वनले जानकारी दिए । ‘वीरेन्द्रनगर नगरपालिकामा ५ सयभन्दा बढी अटो रिक्सा व्यवसायी रहेका छन् ।’ उनले भने,‘उनीहरूबाट नगरपालिका र यातायात व्यवस्था कार्यालयले दोहोरो कर लिने गरेका छन् ।’
यातायात व्यवस्था कार्यालयले दर्ता र नवीकरणका नाममा लिने गरेको छ भने नगरपालिकाले सवारी कर र सिफारिस दस्तुरका नाममा कर लिने गरेको छ । यसरी यहाँका रिक्सा व्यवसायीहरूले यातायात व्यवस्था कार्यालय र नगरपालिकालाई गरेर दोहोरो कर तिर्नुपर्ने बाध्यता रहेको वनले बताए ।
अटो रिक्सा व्यवसायबाट स्वरोजगार बन्न चाहनेका लागि दोहोरो कर हुँदा आफूहरूलाई समस्या भएको अटो रिक्सा संचालकलाई समस्या भएको वनले जानकारी दिए । ‘दोहोरो करका कारणले आफूहरूले एउटा रिक्साको वार्षिक २० हजारसम्म कर तिर्नुपर्ने बाध्यता रहेको छ ।’ उनले भने, ‘नगरपालिका र यातायात व्यवस्था कार्यालयलाई कर बुझाउनुपर्छ । यातायात व्यवस्था कार्यालयले पनि रुट पर्मिटका नाममा कर लैजाने गरेको छ । अहिले हामी व्यवसायीहरूलाई करको दोहोरो मार परेको छ ।’
यातायात सेवा कार्यालय सुर्खेतका अनुसार स्थानीय तहले नै साना सवारीसाधनको कर लिने गरेकाले अहिले अटो रिक्साको दर्ता र नवीकरण कर लिने गरेको हो ।