विराटनगर । कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको छ । विराटनगरमा चार र सुनसरीको धरानमा तीन जना संक्रमितको मृत्यु भएको हो ।

विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा १ जना र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक जनाको मृत्यु भएको हो । मृतकमध्ये एकजना अस्पताल सञ्चालक समेत छन् ।

न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको सोमबार बिहान ३ बजे मृत्यु भएको हो ।

अस्पतालका फोकल पर्सन अजित बस्नेतका अनुसार मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा।लि।का सञ्चालक हुन् । उनलाई असोज २२ गते कोरोना देखिएको थियो ।

रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन न्युरोको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । उनी मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

त्यस्तै नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको छ ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार ग्रामथानका पुरुषमा २९ असोजमा र विराटनगर–३ का पुरुषमा २७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि विराटनगरका पुरुष होम आइसोलेसनमा थिए । श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो ।

बिराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर–२ की ६० वर्षीया महिलाको पनि सोमबार बिहान ४ बजेतिर मृत्यु भएको हो । ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी धरानमा सोमबार थप तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । धरान–८ का पुरुष र धरान १५ का पुरुषको घरमै मृत्यु भएको छ भने इहटरी २० का पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

बिहान करिब २ बजे धरान–८ एघारघरे बस्ने ७० वर्षीय वृद्धको निधन भएको हो । उनी मृगौलाका बिरामी थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलाइसिस गराइरहेका उनलाई परिवारले आइतबार घर ल्याएको थियो ।

यसैगरि, धरान १५, बुढासुब्बा चोक नजिकै पनि ७४ बर्षका वृद्धको बिहान ६ बजेतिर निधन भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । शनिबार पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनको मुटुको वाइपास सर्जरी गरिएको थियो ।

यस्तै सुनसरीकै इटहरी २० का ७८ बर्षीय पुरुषको बिहान ३ बजेर ५ मिनेटमा बीपी कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार असोज १९ गते प्रतिष्ठान भर्ना गरिएका उनमा १ कात्तिकमा संक्रमण पुष्टि भएको थियो ।

उनलाई एनेमियालगायत दीर्घ रोगहरु थियो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ३८ पुगेको छ । जसमध्ये १६ जना प्रदेश १ बाहिरका हुन् ।