१६ कार्तिक ,सुर्खेत।
कर्णालीमा उत्कृष्ट कार्य सम्पादन गरेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई बर्खास्त गर्ने तयारी भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्री रावललाई हटाउने तयारी गरिएकाे हाे ।

प्रधानमन्त्री केपी ओली पक्षका मन्त्री रावललाई माधवकुमार नेपालले पटक–पटक मन्त्री पदबाट राजीनामा दिन दबाब दिदै आएका थिए । उनले राजीनामा दिन नमानेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनी लगायत कर्णालीका पर्यटनमन्त्री नन्दसिंह बुढालाई बर्खास्त गर्ने तयारी रहेको कर्णाली प्रदेश सरकार स्रोतले जनाएको छ ।

मन्त्री रावलले आफूलाई राजीनामा दिन दबाब आएको तर आफूले राजीनामा नदिने बताए । उनले मुख्यमन्त्रीलाई आफ्नो क्षेत्राधिकार प्रयोग गरी हटाउन चुनौति दिएका छन् । ‘मलाई राजीनामा दिनलाई पटकपटक दबाब आएको थियो तर राजीनामा दिनुपर्ने कारण नभएकाले दिइनँ,’ उनले भने, ‘मैले मुख्यमन्त्रीलाई हटाउने राख्ने तपाईंको अधिकार हो भनिसकेको छु मैले सुनेअनुसार आजैबाट नयाँ मान्छेलाई जिम्मेवारी दिइदैँ छ ।’

देश संघीयतामा गएपछि सबैभन्दा सक्रिय सामाजिक मन्त्रीको रुपमा रावलले भूमिका निभाउँदै आएका थिए । स्वास्थ्य सुचकाङ्कमा सबैभन्दा पछि परेको कर्णाली प्रदेशमा स्वास्थ्य संरचना र जनशक्तिको तयारी हुँदै गएको छ । कोरोना नियन्त्रणमा उनकै नेतृत्वमा देशकै सफल प्रदेशका रुपमा रहेको छ । देश संघियतामा गएपछि सबैभन्दा पहिला प्रदेश स्वास्थ्य नीति बनाउने पनि नेतृत्व पनि उनैले लिएको थिए ।