सुर्खेत । कोरोना कहरकै बीच कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ ।

कोभिड १९ संक्रमणको जोखिमका कारण गत वैशाखमा हुन नसकेको परीक्षा आजबाट शुरु भएको हो ।

परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका छन् । देशभर ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यसपटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । बोर्डका अनुसार थप ४० प्रतिशत अंक कक्षा ११ को नतिजाको मूल्याङ्कन गरेर र २० प्रतिशत अंक विद्यालयको आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

परीक्षा बिहान ८ बजेदेखि साढे ११ बजेसम्म सञ्चालन भएको छ । यसपटक विद्यार्थीहरुले आफैले पढेको विद्यालयमा परीक्षा दिन पाएका छन् ।

यस्तै गाउँघरमा गएका विद्यार्थीहरुले भने आफुलाई पायक पर्ने स्थानमै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था पनि गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सबै परीक्षा केन्द्रमा जनस्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन भएको बताए ।

यस्तै अनुगमनका क्रममा परीक्षा केन्द्रहरुमा परीक्षा बोर्डले जारी गरेको परीक्षा मापदण्ड समेत पालना भएको पाइएको सचिव मैनालीको भनाई छ ।

परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्ने, सामाजिक दूरी कायम गर्ने, ज्वरो नाप्ने, साबुनपानीले हात धुन लगाउने, मास्क तथा फेससिल लगाउने, सेनिटाइजरको प्रयोग गर्ने लगायतको व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपात्यकाका विभिन्न परीक्षा केन्द्रहरुमा पुग्दा जनस्वास्थ्य मापदण्डका सम्पूर्ण मापदण्डहरु पुरा गरेको पाइएको छ ।

परीक्षामा विद्यार्थीले लेखिसकेपछि भिडभाड नगरीकन कापीलाई तोकिएको ठाउँमा राखेर बाहिर निस्कने व्यवस्था मिलाइएको पनि केन्द्राध्यक्षहरुले बताएका छन् ।

विजय मेमोरियल हाइस्कूलका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माले कोरोनाको खतरालाई ध्यान दिएर मापदण्ड पालना गरी परीक्षा संचालन गरेको बताए ।

पद्मकन्या माध्यामिक विद्यालय डिल्लीबजारकी प्रधानाध्यापक रिता तिवारीले पनि अहिलेको विषम अवस्थालाई ध्यान दिएर आवश्यक सतर्कताका उपायहरु अपनाएर मात्र परीक्षा संचालन गरेको बताइन् ।

एउटा परीक्षा कोठामा बढीमा २० जनासम्म विद्यार्थी राख्न पाउने व्यवस्था गरिएको छ । यस्तै परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्कको प्रयोग गरेका छन् ।

परीक्षामा कोही विद्यार्थी विरामी परेमा छुट्टै कोठामा राखेर परीक्षा दिन पाउने व्यवस्था पनि विद्यालयहरुले गरेका छन् ।

परीक्षा सञ्चालनमा स्थानीय तहहरुले सहयोग गरिरहेका छन् । कक्षा १२ को परीक्षा यही १६ मंसिरमा सकिने छ ।