एजेन्सी । अद्‍भुत, बदनाम, असाधारण, जिनियस र रिसालु स्वभाव । डिएगो अरमान्डो म्याराडोना । फुटबलका यस्ता महानायक थिए, जसमा केही कमजोरी पनि थिए ।

फुटबलका सबैभन्दा प्रभावशाली र चम्किला खेलाडीमध्ये एक, अर्जेन्टिनाका म्याराडोनामा प्रतिभा, शोख, दृष्टिकोण र गतिको यस्तो भण्डार थियो, जसबाट उनले आफ्ना समर्थकलाई मन्त्रमुग्ध बनाउँथे ।

उनले आफ्नो विवादित गतिविधिका कारण आफ्ना समर्थकलाई दुःखी बनाए र चोट पनि पुर्‍याए । म्याराडोनाले आफ्नो विवादित ‘हेन्ड अफ गड’ गोलबाट सबैलाई आश्चर्य पारे र मैदानबाहिर लागू औषधमा समेत लागे ।

सानो कदका महान खेलाडी

म्याराडोनाको जन्म ६० वर्षअघि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको एक झुप्राहरुले भरिएको सानो सहरमा भएको थियो । आफ्नो गरिबीसँग लड्दै युवावस्थासम्म आइपुग्दा उनी सुपरस्टार बनिसकेका थिए । कतिपय मानिस उनलाई ब्राजिलका महान खेलाडी पेलेभन्दा पनि महान फुटबलरका रुपमा लिन्छन् ।

म्याराडोनाले ४९१ खेलमा २५९ गोल गरेका थिए । एक सर्वेक्षणमा उनले पेलेलाई पनि उछिनेर २० औं शताब्दीका महान फुटबलर बन्ने सौभाग्य र गौरव पाएका थिए । तर फिफाले भोटिङको नियम परिवर्तन गरेर दुवै खेलाडीलाई सम्मानित गरेको थियो । म्याराडोना विलक्षण प्रतिभाका धनी थिए ।

उनी बचपनदेखि नै अलग प्रकृतिका थिए । उनले १६ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय फुटबलमा पाइला राखेका थिए । कदमा सानो र मोटो शरीर भएका उनी ५ फिट पाँच इन्च उचाइका थिए । तर उनी सामान्य खेलाडी थिएनन् । म्याराडोनासँग चतुर्‍याई, तीव्र गति, फुटबललाई नियन्त्रणमा राख्नसक्ने क्षमता र ड्रिब्लिङ जस्ता गुण थिए । उनले धेरै तौल हुनुको बेफाइदालाई आफ्नो क्षमताले सधैं किचेर राखेका थिए ।

हेन्ड अफ गड र गोल अफ सेन्चुरी

म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेले । जसमा उनले ३४ गोल गरेका थिए । यो उनको उतारचढाबपूर्ण अन्तर्राष्ट्रिय करिअरको एक हिस्सा हो । उनले आफ्नो देशका लागि सन् १९९६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलको उपाधि जिताए र चार पटकसम्म प्रतियोगिताको फाइनलसम्म पुर्‍याए । १०८६ को विश्वकपको क्वाटरफाइनलमा म्याराडोनाले गरेको गोल भने सधैं चर्चाको विषय बन्छ ।

मेक्सिकोमा क्वाटरफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल थियो । दुई देशबीचको यो खेल निकै तनावपूर्ण थियो । किनकि त्यसभन्दा ४ वर्षअघि मात्रै फकल्यान्डमा दुई देशबीच युद्ध भएको थियो । २२ जुन, १९८६ मा भएको रोमान्चक खेलमा ५१ मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन् । त्यसै समयमा म्याराडोनाले विपक्षी टिमका गोलकिपर पीटर शिल्टनतर्फ अघि बढेर आफ्नो हातले बललाई जाली चुमाए । हातको प्रयोगका कारण यो गोल विवादित बन्यो ।

हैंड ऑफ़ गॉड

फुटबलको नियमअनुसार हातले बल छोएका कारण सिधा फल थियो र उनलाई कम्तीमा पहेँलो कार्ड या रेड कार्ड हुन सक्दथ्यो । तर त्यसबेला भिडियो प्रविधि थिएन र रेफ्रीले यो गोललाई राम्रोसँग देख्न पाएनन् । त्यसकारण यसले गोलको मान्यता पायो र अर्जेटिना १–० ले अघि बढ्यो । खेलपछि म्याराडोनाले सो गोलबारे प्रतिक्रिया दिए, ‘थोरै आफ्नो टाउको र थोरै भगवानको हात ले यो गोल भएको थियो ।’ त्यसपछि यो घटना फुटबलको इतिहासमा सधैं ‘हेन्ड अफ गड’ का नामले दर्ज भएको छ ।

यो खेलमा विवादित गोलभन्दा चार मिनेटपछि गरेको गोललाई ‘गोल अफ दि सेन्चुरी’ शताब्दीको गोलका रुपमा लिइन्छ । उनी एक्लैले इंग्ल्यान्डका पाँच खेलाडी र गोलकिपरलाई छक्याएर बललाई पोस्टको दिशा दिएका थिए । यो गोलका बारेमा बीबीसीका कमेन्टेटर ब्यारी डेभिसले भनेका थिए, ‘तपाईंले मान्नैपर्छ कि यो शानदार थियो । यो गोल फुटबलको चातुर्य गोल हो भन्नेमा कुनै सन्देह छैन ।’

यो खेलपछि म्याराडोनाले भनेका थिए, ‘यो खेल जितभन्दा केही बढी नै थियो । यसको उद्देश्य इंग्ल्यान्डलाई विश्वकपबाट बाहिर पठाउनु थियो ।’

लागू औषध र मदिरामा फँसेका नापोलीका हिरो

म्याराडोनाले बार्सिलोना र नापोली जस्ता प्रसिद्ध क्लबबाट फुटबल खेलेका थिए र क्लबको हिरोका रुपमा चर्चा पाएका थिए । सन् १९८२ मा उनी तीन मिलियन पाउण्डमा स्पेनी फुटबल क्लब बार्सिलोना र यसको दुई वर्षपछि ५ मिलियन पाउण्डमा इटालियन क्लब नापोली गएका थिए ।

जब म्याराडोना हेलिकोप्टरमा चढेर इटालीको सान पाओलो रंगशाला पुगे, तब त्यहाँ ८० हजारभन्दा बढी समर्थक उनलाई स्वागत गर्न भेला भएका थिए । उनले आफ्नो क्लब करिअरको सबैभन्दा राम्रो समय नापोलीमा नै बिताए र ठूलो मात्रामा प्रशंसक कमाए ।

इटालीमा भएको प्रशिद्धिले उनलाई खुसीसँगै कहिलेकाँही तनाव पनि दिन्थ्यो । उनले एक पटक भनेका थिए, ‘यो एक राम्रो स्थान हो, तर म मुस्किलले मात्रै श्वास फेर्न पाउँछु । म स्वतन्त्र र बेफिक्र भएर यताउता घुम्न चाहन्छु । म कुनै साधारण मान्छे जस्तै हुँ ।’

यसैबीच उनलाई कोकिनको लत लाग्यो र उनको नाम इटालीको कुख्यात माफिया संगठन केमोरासँग पनि जोडियो । सन् १९९१ मा अमेरिकामा भएको विश्वकपका क्रममा उनलाई प्रतिबन्धित ड्रग एफेड्रिन पाइएपछि प्रतियोगितामा जान उनलाई प्रतिबन्ध नै लगाइएको थियो ।

रिटायर जीवन

उनले ३७ औं जन्मदिनको अवसरमा फुटबल करिअरबाट अवकाश घोषणा गरे । तर उनलाई विवाद र कठिनाईले भने सधैं पछ्याइरह्यो । म्याराडोनाले एक पटक पत्रकारमाथि एयर राइफलबाट गोली चलाएका थिए । जसका लागि उनलाई २ वर्ष १० महिना जेल सजाय सुनाइएको थियो ।

कोकिन र मदिराको लतका कारण उनले केही स्वास्थ्य समस्याको सामना गर्दै आएका थिए । उनको तौल पनि धेरै बढेको थियो र एक समयमा १२८ केजी सम्म पुगेका थिए । सन् २००४ मा म्याराडोनालाई हृदयघात भएपनि आईसीयूमा राखेर उपचार गरिएको थियो । मोटोपन घटाउनका लागि उनले ग्यास्ट्रिक–बाइपास सर्जरी गराएका थिए भने लागू पदार्थको लतबाट छुटकारा पाउनका लागि सहयोग लिनुपरेको थियो ।

यी सबै विवाद र हैरानीका बाबजुद २००८ मा म्याराडोना अर्जेन्टिनी राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए । उनले म्यानेजरका रुपमा अर्जेन्टिनाका लागि केही काम गरे । तर उनका बारेमा मानिसहरुका दुई थरी विचारहरु आइरहे र कुनै नै कुनै कारण चर्चामा रहे । उनले विवाहेत्तर सम्बन्धबाट जन्मिएका छोरा डिएगो अरमान्डो जुनियरलाई सार्वजनिक रुपमा स्वीकार गरेका थिए ।

सन् २०१८ को विश्वकप फुटबलमा रुसमा उनी अर्जेन्टिना र नाइजेरियाको खेल हेर्न गएका बेला एक फोटो भाइरल बनेको थियो । त्यसबाट उनको जीवनशैली कति बिग्रिसकेको थियो भन्ने पत्ता लाग्थ्यो । रुसमा उनी एक नाइजेरियाका समर्थकसँग नाचेका थिए । खेल सुरु हुनुअघि नै आकाशतिर फर्किएर प्रार्थना गरे । मेस्सीको गोलमा उनले यति उत्साहित भएर ‘सेलिब्रेट’ गरे कि सायद उनी आफैंले गोल गर्दा पनि त्यति खुसी थिएनन् होला ।

खेलका क्रममा नै उनी सुते र अर्जेन्टिनाको दोस्रो गोलपछि उनले ‘डबल मिडिल फिङ्गर स्यालुट’ गरे । आफ्नो जीवनका पछिल्ला केही वर्षदेखि उनी आफ्नो जीवनशैली सुधार गर्नका लागि उपचार गराइरहेका थिए । उनी उत्कृष्ट, बदनाम, शर्मनाक र मनोरञ्जक सबै थिए । असाधारण जिन्दगी थियो, म्याराडोनाको । स्रोतः बीबीसी