मनिष गहतराज

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना १९४९ सेप्टेम्बर १५ मा कलकत्तामा भएको हो । जसको नेतृत्व पुष्पलाल श्रेष्ठले गरेका थिए । जसमा नर बहादुर कर्माचार्य, निराजन गोविन्द वैद्य र नारायण विलास जोसी महत्वपूर्ण सदस्यहरु थिए । राणा शासनको विरुद्धमा कांग्रेससँग मिली तत्कालीन समयमा उनीहरुले प्रजातान्त्रका लागि ठूलो योगदान पु¥याएका थिए ।
१९५० को क्रान्तिले राणाहरुलाई सत्ताबाट फालेपछि खुला रुपले पार्टी सञ्चालन गर्न सकिने अवस्था भए पनि यो त्यती लामो समयसम्म टिकेन । राजा महेन्द्रको उदयपछि नेपाली राष्ट्रिय कांग्रेसको सरकारलाई अपदस्त भई राजनीतिक गतिविधीमा पूर्णविराम लागाएको अवस्थामा १९६० पछि भने कम्युनिष्ट पार्टीमा विभाजनको सिलसिला सुरु भयो । राजतन्त्रको बारेमा नेताहरुमा मतभेद देखिन थाले जसले पार्टीलाई विभाजनको मुखमा धकेल्यो । पुष्पलाल, मनमोहन अधिकारी तथा उनका सहयोगीहरु राजालाई पछि हटाउन १९७१ मा भारतीय सहयोगका लागि र कांग्रेससँग सहकार्य गरी प्रजातन्त्र ल्याउने पक्षमा उभिए । मोहन विक्रम, मनमोहन अधिकारी, निर्मल लामा, राधकृष्ण मैनाली, सी.पी. मैनाली र मोहनचन्द्र अधिकारी जस्ता व्यक्तिहरु राजाका विरुद्धमा उभिए । विशेषगरी मैनाली दाजुभाई, मोहनचन्द्र अधिकार र रामनाथ दाहाल नक्सलवाडी चारु मजुमदारबाट प्रभावित थिए । उनीहरुले १९७१ मा सशस्त्र आक्रमणलाई सुत्रपात गरी कयौं जमिनदार, वर्ग दुश्मनहरुलाई भौतिक कारबाही समेत गरे । यसैलाई झापा विद्रोहको रुपमा समेत लिने गरिन्छ ।
अर्कोतर्फ केशरजंग रायमाझी र उनका केही समूह राजसँग सहकार्य गर्ने र नयाँ राजनीतिक प्रणाली विकास गर्ने कुराको वकालत गर्दथे । यही तात्कालिक कारणहरुबाट नै कम्युनिष्ट पार्टीको विभाजनको सुरुवात हुन पुगेको देखिन्छ । यसको पटाक्षेप १९६१ को पाटना प्लेनमबाट नेपाल कम्युनिष्ट पार्टी दुई धारमा विभाजन भयो । रायमाझीहरु राजासँग हात मिलाउन गए ।
यसैगरी दरभंगामा भएको प्लेनमले संवैधानिक राजवादी धारका रुपमा रायमाझी संसद पुनस्थापना र आम हड्तालवादीका रुपमा पुष्पलाल र संविधान सभावादी मोहन विक्रमको रुपमा पार्टी तीन धारमा विभाजन भयो । १९६२ मा एउटा अर्को भाग वानारसीमा तुलसीलाल अमात्यको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्रिक क्रान्ति समूहको रुपमा पार्टी घोषणा भयो । तेस्रो महाधिवेशनको वैधानिकतामा प्रश्न उठेकाले रायमाझी र अमात्यका रुपमा दुई समूह कम्युनिष्ट पार्टीमा देखा परे । यही वैद्य÷अवैद्यको खेलले पार्टीलाई साधुराउँदै गयो । यसले धेरै अन्य समूहहरुमा पार्टीलाई विभाजन गर्ने कारकको भूमिका खेल्न गयो । यसबीचमा कम्युनिष्ट पार्टी – पुष्पलाल, माक्र्सवादी, माक्र्सवादी–लेनिनवादी, चौथो महाधिवेशन, एकता केन्द्र, मजदुर–किसान, रोहित, माक्र्सवादी–लेनिनवाद–माओवाद, मशाल, मसाल, मानन्धर, वर्मा आदिको समूहमा विभाजन भयो । त्यसैगरी १९७८ मा मालेको उदय भयो ।
१९७२ मा राजा महेन्द्रको निधन र १९८२ मा विपिको निधनपछि भने नेपालमा कम्युनिष्टहरु अलि लोकप्रीय हुँदै गए । १९८५ मा बहुदलिय प्रजातन्त्रको स्थापनालाई कम्युनिष्ट पार्टीले जनसंगठनहरु निर्माण गर्न थाले । १९८५ को जनआन्दोलनमा अन्य कम्युनिष्ट समूहहरु विपक्षमा उभिए पनि पुष्पलाल समर्थित मनमोहन अधिकारी र साहाना प्रधान समूहले व्यापक समर्थन गरेको थियो । १९८९ मा प्रचण्ड समूह आन्दोलनको विपक्षमा उभियो भने अन्य विभिन्न ९ समूह आन्दोलनमा सहभागी भए । वामपन्थी समूहको रुपमा यिनीहरुले जनआन्दोलनमा कांग्रेससँग सहकार्य गरे ।
१९९० को जनआन्दोलनको सफलतापछि पुष्पकमल दाहाल समूह नेकपा (एकता केन्द्र) बाट बाहिरियो । उनीहरुले संयुक्त जनमोर्चाको रुपमा अर्को समूह बाबुराम भट्टराईको नेतृत्वमा गठन गरे । १९९० मा नेकपा माक्र्सवादी समूह वैधता पाए भने १९९१ मा माले समूह वैध भए जुन अहिलेको एमालेको पृष्ठभूमि हो । यद्यपी नेकपा (मसाल) बाहेकको सम्पूर्ण – प्रचण्ड, बाबुराम सहितको समूह आम निर्वाचनमा भाग लियो । मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (माक्र्सवादी) स्वंयले नेकपा (माले) विघटन गरी नेकपा (एमाले) को निर्माण गरे ।
बाबुरामको जनमोर्चा र प्रचण्डको नेकपा एकीकरण भई १९९५ मा नेकपा (माओवादी) को रुपमा जनयुद्धको घोषणा गरे । १९९४ मा नेकपा (एमाले) ले सरकार गठन गरी राजवादी लोकेन्द्र बहादुर चन्द समूहलाई समेत सामेल गरायो । यसबीचमा पनि वामपन्थी बाटोबाट भागेको आरोप लगाई रुपलाल विश्वकर्मा नेतृत्वको मजदुर – सर्वाहारा पार्टी विघटन भए । चित्र बहादुर, हरेराम समूह समेत अस्तित्वमा देखा परे ।
यद्यपी माओवादी युद्धको समयमा पार्टीहरुको विभाजनका सुस्तता आए पनि वि.सं. २०६२÷६३ को आन्दोलन पछिको शान्तिपूर्ण अवतरण पछि भने फेरी नेपालमा कम्युनिष्टहरुको विभाजन सुरु भयो । संविधान सभाको चुनाव र यसपछिका कार्यदिशाहरुमा मतभेद भई माओवादी किरण, विप्लव, मातृका यादव हालै आहुतीका रुपमा धर्को, थोप्ला आदि समूहमा विभाजन भयो । केही पार्टीहरु पछिल्लो समय माओवादी र एमालेमा एकीकरण पनि भयो । अमिक सेरचन, नवराज सुवेदी तथा परी थापा समूहहरु त्था साध्य बहादुर समूह यी दुई पार्टीमा एकीकृत भए । नेकपा माले पनि मन्त्रि हुने निहुँमा फुट्यो । टाउको, जुँगा, व्यक्तित्व, अहम्ता तथा केही वैचारिक र रणनीतिक कारणहरु वा विश्व घटनाहरुलाई हेर्ने दृष्टिकोण (श्रीलंकाका लिट्टे, पेरुका माओवादी) तथा विविध यौनकाण्ठहरु तथा १–२ जना समेत अध्यक्ष हुने खेलमा पार्टी फुटाउने प्रवृत्ति देखापरे पनि यसको निरन्तरता गणतन्त्रमा समेत रह्यो । जसले नयाँ नयाँ पार्टीहरुको विकासमा सहयोग पुर्यायो ।
आज ओली र प्रचण्ड नेतृत्वको दुई वटा पार्टीहरु लामो समयको टुटफुटको क्रमभंगताको रुपमा एक ठाउँमा उभिएका छन् । सिद्धान्ततः कम्युनिष्ट पार्टीको दस्तावेजहरुको अध्ययन र भाषणबाजीहरुले मात्र उनीहरुलाई कम्युनिष्ट भन्ने सक्ने अवस्था रहदैँन । व्यवहारतः नेपाली कम्युनिष्टहरुको इतिहासले उनीहरुका पृथक पृष्ठभूमि र नेता – कार्यकर्ताहरुको सम्बन्धका कारण पनि उनीहरुमा माक्र्सवादी चरित्र पाउन मुस्किल छ । पहिलो पटक १९६१ मा अन्तरिक्षमा पाइला राख्ने रसियाका युरी गागरिन पृश्वीमा आएपछि सरकारले उनलाई जस्तोसुकै किसिमले पुरस्कृत गर्ने प्रस्ताव राख्दा उनले म कम्युनिष्ट पार्टीको सदस्य बन्न पाउँ भन्ने माग राखेका थिए । यो स्तरको नैतिक धरातल नेपाली कम्युनिष्ट पार्टीमा छैन की जो यसको सदस्य बन्न यस्तो अपिल गरोस् । राजनीतिक रुपमा आफ्नै धन्दाको मालिक बन्ने क्रोनी क्यापिटालिज्मले यिनीहरुलाई गाँजेको छ । तर पनि यो भिन्न भिन्न पृष्ठभूमिको पार्टीको एकता क्रमभंगताको नविन शृखला भने हो ।
माओवादीको युद्धका विरासत तथा जनवाद र एमालेको बहुदलिय जनवादले भन्दा पनि पद, शक्ति र सत्ताको वरिपरी यो एकीकरणले घनचक्कर लगाउँदै थियो र यो आज एकीकरणको रुपमा पटाक्षेप भएको छ, कुनै मायावी प्रहसनको रुपमा । कम्युनिष्टहरुमा रसियाली र चीनिया धारले विभाजनलाई मलजल नेपालमा पनि गरेको थियो । यसैले एकता र विघटनको मुख्य नेतृत्व गरेजस्तो भए पनि व्यक्तिगत मनमुटाव र शक्ति सन्तुलन नै मुख्य कारणको रुपमा रहेको पाइन्छ ।
२१ औं शताब्दीमा हामीले लेनिले गरेजस्तो अक्टोबर क्रान्तिमा सेना पुलिसको समर्थनको अवस्था छैन, माओले गरेजस्तो सांस्कृतिक क्रान्तिको सम्भावना छैन, यसैको भडकावमा आफ्नै समर्थनका समेत १५लाख व्यक्ति झुण्डाउने पोलपोटको कथा पढिने छैन, भियतनामको जस्तो इतिहास रच्ने गरी सुस्ता, कालापानी, र इण्डो–चिनीया जासुसी सेल्टरहरुमा हमला गर्न सक्ने छैनौं, हामीले अमेरिकाको नाकै मुन्तिर ल्याटीन अमेरिकाको क्रान्तिका संवाहक चे, फिडेलका कथा दोहो¥याएर पढ्ने छैनौं, किम इल सुङले जस्तै देश विभाजन र आजको तनाव झेल्ने छैनौ, भारतीय नक्सलवाडी प्रभावको पुनरावृत्ति र आजको चासो छैन भन्ने बुझेर, छोटो समयमै गुमेको पेरिस विरासतको सपना देख्ने छैनौं भनेर र यी सबै कुराहरुलाई मनन गरेर आजका दिनबाट नेपालको सन्तुलित विकासमा योगदान गर्ने सपना मात्रै देखेर एकीकरण भएको हो मात्रै भनेपनि यसलाई फलदायी मान्न सकिन्छ ।
नेपालमा व्यवहारमा हेर्ने हो भने एकाध व्यक्तिहरुलाई छाडेर निष्ठाले हेर्ने नैतिक धरातलको सिर्जना गर्ने कम्युनिष्टहरु छैनन् । अध्ययन, कार्य, व्यवहार तथा योगदानहरुका आधारमा यिनहरु सम्मानित स्तरमा पुग्ने सामथ्र्य राख्दैनन नै । त्यसैले यिनीहरुप्रतिको भरोसा समेत यही सीमाभित्र कैद छन् । वर्गिय र सांस्कृतिक सचेतना मात्र हो यिनीहरुसँग कम भएको अरु सबथोकले यि परिपूर्ण छन् । राज्यका स्रोतमाथि आफैँ पौडी खेल्छन्, मौलाएको क्रोनि क्यापिटालिज्म छ, सुखशयल र विलासी जीवनको अभिप्षामा कमी छैन । त्यसैले त पाउलो कोहेलोले भने जस्तै क्रान्तिमा कोही कर्ता र कोही कर्म बनाइनु हुँदैन, कोही चिन्तन गर्ने र कोही त्यसको भरिया बन्ने भन्ने हुनु हुँदैन भन्ने शब्द निमूखा बनेको छ ।
अन्तमा कम्युनिष्टहरु कठोर शास्त्रीय अनुशासनमा मात्रै रहनुपर्छ भन्ने होइन । आज माक्र्स जिउँदो भइदिएको भए ट्वीटरमा के लेख्थे होला भनेर पनि सोचिनु पर्छ । सूचना, प्रविधि, लगानी, विचार आदि स्वतन्त्र आवतजावत हुने विश्वव्यापीकरणको छायाँमा आजका मानिसहरुको जीवनस्तरलाई ध्यान दिइएन भने आज भियतनाममा हाम्रा पुर्खाले अमेरिकालाई किन देश दिएनन् र लडे जसले यो दुरावस्था भोग्नुप¥यो भन्ने तिक्तता पोख्न सक्छन् । आजको प्रविधि र विश्वव्यापी सञ्जाललाई हेरेर माक्र्स के सोच्थे होला भन्ने सोचिएन भने यसका सौन्र्दयहरु पूँजीवादले आफ्नो बनाउने छ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता हुँदा लामो समयसम्म पार्टीको कार्यदिशा के हुने भन्ने बहस चलेको थियो । एमालेले नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई आफ्नो कार्यदिशा मान्दै आएको थियो भने माओवादी केन्द्रको कार्यदिशा एक्काइसौं शताब्दीको जनवाद थियो । दुबैका विचारलाई समायोजन गरेर नेकपाले कार्यदिशा जनताको जनवाद र अधिकतम् लक्ष्य समाजवाद स्थापना गर्ने ल्क्ष्य रहेको छ ।
जनताको जीवनस्तर उकास्ने आत्मनिर्भरता र अन्तरसम्बन्धलाई विचार नगर्ने र आधारभूत आवश्यकताका लागि समेत आज कोही प्रताडित हुनुपर्ने अवस्था रह्यो भने समाजवादी अर्थतन्त्रको चित्र कसरी कोर्न सकिन्छ ? आज क्युबा डाक्टर उत्पादन गरेर भेनेजुयलासँग तेलमा निर्यात गर्छ ।
त्यसैले यो एउटा सुखद अवसर हो कि हामी टुटफुटको विश्वव्यापी असरबाट मुक्त भएर स्वतन्त्र ढंगले सिर्जनात्मक रुपमा समाजवादी चरित्रको विकासमा जोडिएका छौ । यो अर्को विभाजनको सुरुवात होइन् । हामी यो एकतालाई दक्षिण एसियाली समाजवादी क्रान्तिको प्रस्तावना बनाउँछौं ।