सुर्खेत । कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकले अधुरा रहेका आयोजना सम्पन्न गर्नका लागि बजेट बिनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को समपुरक र विशेष अनुदानबाट स्थानीय तहहरुमा संचालित अधुरा आयोजनाहरुका सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेको हो ।
कर्णाली प्रदेश सरकारको समपुरक र विशेष अनुदानबाट स्थानीय तहहरुमा संचालित अधुरा आयोजनाहरुका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध शिर्षकबाट जम्मा रु. २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहहरुमा हस्तान्तरण गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।
त्यस्तै, प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा दैलेख नारायण नगरपालिका–८ सर्बराज खड्कालाई नियुक्त गर्ने, मुख्ययमन्त्री समन्वय बिज्ञका रुपमा सुर्खेत लाटीकोइली –९ झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय भएको प्रवत्ता केसीले जानकारी दिइन् ।
सल्यान जिल्ला कुमाख गाउँपालिका र दैलेखको भगवतीमाई गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकार समक्ष स्विकृतिका लागि पठाउने निर्णय भएको प्रवत्ता केसीले बताइन् ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेश सुरक्षा मापदण्ड, २०७७ स्वीकृति प्रदान गर्ने, कर्णाली प्रदेशको सुरक्षा रणनीति, २०७७ स्वीकृति प्रदान गर्ने, शान्ति अध्ययन तथा घाईते अपाङ्ग पुर्नस्थापना केन्द्र स्थापना सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय भएको प्रवत्ता केसीले जानकारी दिइन् ।
त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई कर्णाली प्रदेश पर्यटन गुरुयोजना स्वीकृत गर्ने निर्णय भएको प्रवत्ता केसीले बताइन् ।