सुर्खेत । उच्च अदातल सुर्खेतद्वारा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पाँच जना अधियुक्तलाई १÷१ लाख धरौटीको माग गरेको छ ।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार गरेको फैसला अनुसार घटनाका ३४ जना अभियुक्त मध्ये भिमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा एक–एक लाख धरौटी माग गरेको हो ।
यस अघि अभियोग लागेका ३४ जनामध्ये पाँच जनाका बिषयमा तत्कालिन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच मत बाझिएको थियो । असोज २५ गते दुई न्यायधीशका बीचमा अभियुक्त मध्येका जनालाई थुनामै राखेर कारवाही प्रक्रिया अघि बढाउने वा जमानत छ वा तारेखमा राख्ने सन्दर्भमा राय बाझिएको थियो ।
दुई न्यायधीशबीच फैसलामा राय बाझिएपछि पुनः मुद्दाको सुनुवाई भएको र विगतमा भएको फैसलामा सर्वजीत भनिने सविन पुनसहित छ जनालाई छाड्ने आदेश भएकोमा अहिले भएको एकल इजलासले सविन पुनबाहेक अन्यलाई धरौटीमा छाड्ने आदेश भएको उच्च अदालतका रजिष्ट्रार माधवप्रसाद आचार्यले बताए । ‘संयुक्त इजलासको राय बाँझिदा एकल इजलासमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।’ उनले भने, ‘माननीय मुख्यन्यायाधीशज्यूको एकल इजलासले छ जना मध्येका एक सविन पुनलाई थुनामै राख्न र बाँकी पाँच जनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।’
तत्काल प्राप्त प्रमाणबाटसमेत उनीहरु घटनास्थलमा थिए भन्ने पुष्टी नभएको आधारमा पछि ठहरे बमोजिम हुने गरी हाललाई जनही एक–एक लाख धरौटीमा छोड्न आदेश भएको फैसलामा उल्लेख गरिएको छ ।
गत जेठ १० गते रूकुम पश्चिमको सोतीमा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित गणेश बुढामगर, संजीव विक, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही तथा रुकुम चौरजहारी–१ का टिकाराम नेपालीको हत्या भएको थियो ।