सुर्खेत । खाद्य वस्तुको गुणस्तरको मापन तथा त्यसको नमूना लिएर जाँच गर्ने खाद्य, प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले एक जना कर्मचारीको भरमा ६ जिल्ला हेर्नुपर्ने बाध्यता रहेको छ । कर्णालीका सुर्खेत, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट र रुकुमपश्चिम जिल्लामा खाद्य वस्तुको गुणस्तर मापन र त्यसको नमुना जाँच गर्ने जिम्मा पाएको कार्यालयमा एक जना कर्मचारीले काम गर्दै आएका छन् ।
प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा ६ जनाको दरबन्दी भएपनि तिन वर्षदेखि कार्यालयका प्रमुख भेषबहादुर थापाले एक्लै कामकाज गर्दै आएका छन् । कार्यालयका प्राबिधिक सहायक ४ जना, कार्यालय प्रमुख र कार्यालय सहयागीको दरबन्दी भएपनि तिन वर्षदेखि एक्लैले कार्यालयको काम गर्दै आएको प्रमुख थापाले बताए । ‘जनशक्ति अभावका कारण छ जिल्लाको काम जेनतेन एक्लैले गर्दै आएको छु ।’ उनले भने,‘काम विशेष कार्यालय बाहिर जानुपर्दा जिम्मेवारी सम्हाल्ने अर्को कुनै कर्मचारी नहुँदा यहाँ निकै समस्या हुने गरेको छ ।’
कार्यालय प्रमुख नहुँदा निमित्त कार्यालय प्रमुखका रुपमा समेत काम गर्दै आउनुभएका खाद्य निरीक्षक थापाले एक्लैले छ जिल्लाको काम गर्नुपरेको गुनासो गरे । ‘मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने निकायमा कर्मचारी नहुँदा नागरिकको खाद्य सुरक्षाको अधिकारमा समस्या आउन नदिन कर्णालीको भौगोलिक अवस्था, ठूलो कार्यक्षेत्र र जोखिमपूर्ण यात्रा गर्नुपर्दा पनि सहकर्मी विना एक्लैले काम गर्नु परेकोले निकै गाह्रो भएको छ ।’ उनले भने,‘न सवारी साधन छ नत अन्य कुनै सेवा सुविधा ।’
बजार अनुगमन तथा निरीक्षणका लागि जान पनि अन्य निकायको सवारी साधन लिनु पर्ने बाध्यता रहेको थापाले बताए । ‘स्टोर, लेखा, प्रशासन, अभिलेखलगायत सबै काम आफैले हेर्नुपर्छ । म बाहिरिँदा नागरिकले दिएको निवेदन÷उजुरी बुझ्ने र हेरेर जवाफ दिने मान्छेसमेत छैन ।’ उनले भने,‘लेखापाल नहुँदा तलब खान त्यत्तिकै समस्या भएको छ ।’
खाद्य ऐन, २०२३ र दाना पदार्थ ऐन, २०३३ अन्तर्गत रहेर बन्द तथा खुला १२० प्रकारका खाद्यवस्तुको लेबल तथा तिनको गुणस्तरको नमूना लिएर जाँच गर्दै आइएको प्रमुख थापाले बताए ।
६ जिल्ला हेर्ने कार्यालयमा खाद्य पदार्थको गुणस्तर जाँच्नका लागि कर्मचारी र ल्यावको समस्या भएको निमिक्त प्रमुख थापाले बताए । ‘यहाँ कार्यालयमा खाद्यको गुणस्तर जाँच्ने ल्याव पनि छैन् ।’ उनले भने,‘खाद्य बस्तुको गुणस्तर जाँच्नका लागि नेपालगंज लैजानुपर्ने बाध्यता रहेको छ ।’
कार्यालय स्थापना भए यता कार्यालयमा ९ वटा खाद्य तथा गुणस्तर सम्बन्धि मुद्दा दायर भएको र केही अदालतबाट फैसला भएको केही अदालती प्रक्रियामा रहेको प्रमुख थापाले बताए ।