सुर्खेत । कालिकोट जिल्लाको शान्नी त्रिवेणी गाउँपालिका–१ सेरीज्यूलामा रहेको शंकर माध्यमिक विद्यालयका बाल कक्षादेखि कक्षा पाँच कक्षासम्मका विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षा कोठा भित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नहुँदा विद्यार्थीहरु खाली चौरमा बसेर पढ्न बाध्य भएका हुन् ।
कोरोना भाइरस संक्रमण हुनुभन्दा पहिले विद्यालयमा कार्पेटमा बसेर पढ्न पाएका विद्यार्थीहरुले विद्यालयलाई आइसोलेसनका रुपमा परिणत गरिएपछि त्यहाँ रहेका कार्पेट तथा डेक्स बेन्चहरु भाचिएका कारणले चिसो मौसममा भुईमा बसेर विद्यार्थीहरु पढ्न बाध्य भएका छन् ।
लामो समयपछि विद्यालय संचालन आएको र विद्यार्थीहरु अहिले खुल्ला चौरमा धुलोमा बसेर पढ्न बाध्य भएका शंकर माध्यमिक विद्यालयका शिक्षक खेमराज गिरीले बताए । ‘पहिले कार्पेट विछ्याएको भएपनि विद्यालयलाई आइसोलेशन बनाएपछि अहिलेसम्म पनि विद्यार्थीले कार्पेट पाएकोे छैनन् ।’ उनले भने,विद्यार्थीको पढाई सहजताका लागि गाउँपालिकामा निवेदन दिएको भएपनि गाउँपालिकाले कुनै वास्ता गरेको छैन् ।’
शिक्षक गिरीका अनुसार बालकक्षादेखि पाँच कक्षाका विद्यार्थीहरुका लागि तत्काल बेन्च–डेक्सको आवश्यकता नभएपनि कक्षाकोठामा कार्पेटको व्यवस्थापनका लागि आफू लागिपरेको तर प्रयास सफल हुन नसकेको बताए । ‘भुईमा राखेर बालबालिकालाई पढाउनु बाध्यता रहेको छ ।’ उनले भने,‘विद्यालयलाई आइसोलेशन बनाएपछि विद्यालयमा भएका कार्पेट पनि हराए गाउँपालिकाले अर्को व्यवस्था गरेको छैन । बाध्य भएर विद्यार्थीलाई धुलो, माटोमा राखेर पढाउनु परेको हो ।’