सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको त्रैमासिक मुखपत्र ‘गणेशजल सन्देश’ एक समारोहका बीच बिहीबार विमोचन गरिएको छ । 

श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष प्रेमकुरमार बिसी, जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसी, राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिका निवर्तमान सदस्य हरिहरनाथ योगी, बचत तथा ऋण सहकारी संघ लि. सुर्खेतका अध्यक्ष पदम दाहाल, वरिष्ठ कलाकारहरु गंगा केसी, भीमबहादुर कार्की, प्रेमदेव गिरी, मप विश्वविद्यालयका उपप्राध्यापक चित्र केसी, उद्योग वाणिज्य संघ सुर्खेतका वाणीज्य उपाध्यक्ष प्रेमबहादुर रावत, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, राष्ट्रिय सहकारी बैंक सुर्खेतका म्यानेजर हिरालाल सुनार र पत्रकार आकाशतारा बयकले एक कार्यक्रमका बीच संयुक्त रुपमा ‘गणेशजल सन्देश’ को विमोचन गर्नुभयो ।


‘गणेशजल सन्देश’को विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले पश्चिम नेपालमा नै गणेशजल सहकारीले नयाँ र फरक ढंगका कार्यक्रम गरिरहेकोमा त्रैमासिक पत्रिका प्रकाशन गरेर थप नयाँ कार्यको शुभारम्भ गरेको बताउनुभयो । 

‘गणेशजल सन्देश’को प्रगतिको शुभकामना दिँदै प्रमुख अतिथि बिसीले ‘गणेशजल सन्देश’ले शेयर सदस्यहरुका साथै अन्य सबै सहकारीकर्मीहरुलाई गणेशजल सहकारीले गरेका गतिविधिहरुका बारेमा जानकारी प्रदान गर्न मद्दत पुग्ने बताउनुभयो । संस्थाले आफु केन्द्रित भन्दा पनि आफ्ना सदस्य केन्द्रित कार्यक्रम ल्याएर टोल–टोलमा दैनिसजसो २ देखि ३ सय जना उपस्थित गराई सहकारी शिक्षा तालिम दिईरहेको देख्दा अच्चम लागेको बताउँदै प्रमुख अतिथि बिसीले हिजो साक्षर बनाउन पौढ पढाए जसरी अब आम नागरिकलाई सहकारीको मूल्य, मान्यता र सहकार्यको भावना जगाउने गरी सहकारी शिक्षा पढाउन र सहकारीले समूह वा बिना धितो लगानी गर्दा होस पुर्याउन संस्थालाई सुझाव दिनुभयो ।

यसैगरी कार्यक्रमका विशेष अतिथि राष्ट्रिय सहकारी बैंक, सञ्चालक समितिका निवर्तमान सदस्य हरिहरनाथ योगीले सहकारीका सात वटा सिद्धान्तमध्ये सहकारी शिक्षा, तालिम र सूचनालाई गणेशजलले जोड दिएकोमा उच्च प्रशंसा गर्नुभयो । सहकारीले वेभसाइट र युट्युव मार्फत आफ्ना गतिविधिहरुलाई सार्वजनिक गर्दै शेयर सदस्यहरु समक्ष पुग्नेकाम गरेको बताउँदै विशेष अतिथि योगीले वेभसाइटमा पहुँच नहुनेहरुका लागि गणेशजल सन्देश पत्रिका पुग्नेमा विश्वस्त रहेको बताउनुभयो । 


कार्यक्रमका अर्का विशेष अतिथि बचत तथा ऋण सहकारी संघ लि. सुर्खेतका अध्यक्ष पदम दाहालले गणेशजल सहकारीले हरेक वर्ष नयाँ–नयाँ कार्याक्रमको योजना बनाई त्यसै अनुरुप कार्यक्रम गर्दा सदस्यहरुको रोजाईमा परेर ५ वर्षमै करिब ५० करोड बराबरको कारोबार गर्न सफल भएर उदाहरणीय सहकारी भएको बताउनुभयो ।
राज्य वा नागरिकले सहकारीले गरेका राम्रा काम कुरा नदेख्ने, नबुझ्ने, बझ्न पनि नचाहने तर केही सामान्य गल्ती देख्दा सबैले सहकारीमा नराम्रो देख्ने प्रचलनले गर्दा स्थानीय मानिसलाई सदस्य बनाउन नसकेमा समस्या आउन सक्ने दाहालले बताउनुभयो । ‘गणेशजल सन्देश’ पत्रिका प्रकाशन गरेर बहुउद्देश्यीय सहकारीको भावना अनुसार सहकारी अगाडि बढेकोमा खुशी लागेको बताउनुभयो । 
यसैगरी वरिष्ठ कलाकार गंगा केसीले सहकारीले अन्य क्षेत्रलाई जस्तै कला र संगीतलाई पनि सँगसँगै अगाडि लगेर कला र संस्कृति जगर्नामा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनुभयो । 

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले गणेशजल सन्देश त्रैमासिक पत्रिका प्रकाशन गरेर गणेशजल सहकारीका गतिविधिहरु पारदर्शी बन्न मद्दत पुग्ने बताउँदै अन्य सहकारीका गतिविधिहरुलाई समेत प्रकाशन गरेर सबैको स्वामित्व बन्नेतर्फ अगाडि बढ्न सुझाव दिनुभयो । 

तीन श्रष्टा सम्मानित
‘गणेशजल सन्देश’ विमोचन कै अवसरमा सुर्खेतका तीन जना वरिष्ठ कलाकार सम्मानित भएका छन् । कला, सस्कृति र संगितको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ कलाकारहरु गंगा केसी, भीमबहादुर कार्की र प्रेमदेव गिरीलाई गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाले सम्मानित गरेको हो । 

उहाँहरुलाई जनही पाँच हजार रुपैयाँ, संस्थाको लोगो र नाम अंकित भित्त घडी, संस्थाको नाम अंकित झोला र दोसल्लासहित सम्मान गरेको गणेशजल सहकारीका अध्यक्ष प्रेमकुमार बिसीले जानकारी दिनुभयो । संस्थाले आफ्ना जेष्ठ नागरिक शेयर सदस्य र वरिष्ठ कलाकारहरुलाई वार्षिक रुपमा नियमित सम्मान गर्दै आइरहेको छ ।