सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्। उनले शनिबार प्रदेश सभा सचिवालयमा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गराएका थिए। संघमा सत्ता समीकरण बदलिएसँगै माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कँडेलले विश्वासको मत लिन लागेका हुन ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री कँडेललाई कम्तिमा २१ सांसदको समर्थन आवश्यक छ। प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक/एक सांसद छन्। एमाले र कांग्रेसको जोड्दा २४ सांसद पुग्ने भएकाले कँडेलले विश्वासको मत पाउने निश्चित देखिन्छ।

संघीय सत्ता समीकरणमा परिवर्तन आए पनि कर्णालीमा एमालेका कँडेल मुख्यमन्त्री कायम छन्। उनी चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।