सुर्खेत।कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सामुदायिक एफएमहरूलाई दलित, जनजाति, महिला, अल्पसंख्यक, र उत्पीडित समुदायहरूको महत्वपूर्ण आवाज भएको बताएका छन्। भेरीगंगा नगरपालिका-९ जहरे, सुर्खेतमा रहेको रेडियो बिवि एफ.एम. ९३.६ मेगाहर्जको तेस्रो वार्षिक उत्सवमा बोल्दै, उनले एफएम रेडियोले सिमान्तकृत वर्गहरूको हकअधिकार, क्षमता, र मुद्दाहरुलाई निरन्तर उठाउँदै आएकोमा प्रशंसा गरे।

मन्त्री शाहले सामुदायिक रेडियोहरूले सूचना, शिक्षा, र मनोरञ्जन प्रदान गर्दै, समाजमा एकता, सहयोग, र सद्भाव फैलाउने महत्वपूर्ण भूमिका खेलिरहेको बताए। साथै, उनले सामुदायिक रेडियोहरूले स्थानीय प्रतिभालाई पहिचान दिने, स्थानीय समस्याहरूलाई उजागर गर्ने र समाधान खोज्ने माध्यम बन्नुपर्नेमा जोड दिए।

उनले रेडियो एफएमहरूले जनतालाई सुसुचित गर्दै उनीहरूको समस्याहरूलाई सरकारी निकाय र सरोकारवालाहरू सम्म पुर्याउनु पर्ने आवश्यकता औंल्याए। मन्त्री शाहले विविधतायुक्त नेपाली समाजलाई एकताबद्ध गर्न सामुदायिक रेडियोहरूले सामाजिक एकता, सद्भाव, सहिष्णुता, र भाइचाराको सम्बन्ध कायम राख्न मद्दत गर्ने विश्वास पनि व्यक्त गरे ।