
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ जारी छ। २१ शुक्रबारदेखि सुरु भएको महायज्ञ २८ मंसिरसम्म सञ्चालन हुनेछ।
महायज्ञको दोस्रो दिनमै दाताहरूले ठूलो मात्रामा आर्थिक सहयोग जुटाएका छन्। महायज्ञ आयोजक समितिका अनुसार शनिवार मात्रै ३६ लाख ६५ हजार रुपैयाँ नगद संकलन भएको छ।
वीरेन्द्रनगर नगरपालिकाले आश्रम भवनको एउटा ब्लक निर्माण गर्ने घोषणा गरेको छ। नगरपालिकाले निर्माण गर्ने ब्लकमा करिब १ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। मेयर मोहनमाया ढकालले भनिन्, “राजधानीको पालिका भएकाले भवन निर्माणमा योगदान गर्न हामी प्रतिबद्ध छौँ। पैसा जति लागे पनि एक ब्लक निर्माण गर्नेछौँ।”

महायज्ञमा समाजसेवी थिरकुमारी कार्कीले १० लाख १ सय रुपैयाँ, डा. अर्चना कार्कीले परिवारको तर्फबाट ६ लाख ५१ हजार ११५ रुपैयाँ र डा. नवराज केसीले स्वर्गीय पिताको सम्झनामा ६ लाख ५१ हजार ११५ रुपैयाँ दान गरेका छन्।
लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले पनि मानव सेवा आश्रमको एउटा कोठा निर्माण गरिदिने घोषणा गरेका छन्। उनले महायज्ञमा सहभागिता जनाउँदै निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।

आश्रम भवन निर्माणका लागि गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा प्रदान गरेको छ। हाल मानव सेवा आश्रम भाडाको भवनमा सञ्चालन भइरहेको छ।
महायज्ञ मूल आयोजक समितिका संयोजक डा. नवराज केसीका अनुसार महायज्ञबाट आश्रम निर्माणका लागि आवश्यक पुँजी जुटाउने लक्ष्य राखिएको छ। महायज्ञमा कथा वाचन भागवत भाष्कर कमल नयन गौतमले गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्