सुर्खेतको वीरेन्द्रनगरमा ताओ मन्दिरको उद्घाटन कार्यक्रम मङ्सिर ३० गते (१५ डिसेम्बर २०२४) सम्पन्न भएको छ। प्रमुख अतिथि सुर्खेत जिल्ला समन्वय अधिकारी रामबहादुर बुढाको अाथित्यतामा आयोजित कार्यक्रममा विशेष अतिथि वसन्त कुमार विश्वकर्मा (केन्द्रीय सदस्य, नेकपा एकीकृत समाजवादी), अतिथि अमृत बिसी (प्रदेश कमिटी सदस्य, नेकपा एमाले), तथा विभिन्न सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोह:

कार्यक्रमको शुभारम्भ ताओका गुरु छिन्नाङद्वारा दीप प्रज्वलन, फल र फूल चढाएर गरिएको थियो।

प्रमुख अतिथि रामबहादुर बुढाले विधिवत रूपमा मन्दिर उद्घाटन गरे।

फलफूलमा स्याउ र सुन्तला चढाएर ताओ परम्पराअनुसार पूजा गरिएको थियो।

न्यानो कपडा वितरण:

कार्यक्रमकै क्रममा ताओ मन्दिरका गुरु छिन्नाङ, विशेष अतिथि वसन्त कुमार विश्वकर्मा, र ताओ शाखा संयोजक वीरबहादुर राउतको संयोजकमा ताओ एसोसिएसनबाट ७५ जना दलित तथा विपन्न परिवारका सदस्यहरू र दृष्टिविहीन, अपाङ्ग महिलालाई न्यानो कम्मल वितरण गरिएको थियो।

धार्मिक र सामाजिक उद्देश्य:

विशेष अतिथि वसन्त कुमार विश्वकर्माले ताओ मन्दिरले समाज रुपान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै विश्वकर्माले ताओ मन्दिर उद्घाटनले पर्यटन विकास र मानव समुदायको जीवनयापनमा थप सहयोग पुर्‍याउनेछ। संसारका सबै मानव समान छन्। मानवको जात मानव नै हो, कसैको पनि जात हुँदैन। सबै प्रकारका विभेद अन्त्य गर्न यसले कोशेढुंगा सावित हुने बताए।

अतिथि अमृत बिसीले ताओ परम्परालाई ऐतिहासिक तथा समावेशी बताए।

गुरु प्रकाश भट्टराईले ताओको अर्थ “एकता र भगवानसँगको सम्बन्ध” रहेको भन्दै, यसले कुनै धर्मसँग विरोध नगर्ने र शान्ति तथा सहअस्तित्वलाई प्राथमिकता दिने उल्लेख गरे।

समाजमा ताओको महत्व:

ताओ एसोसिएसन अफ नेपाल, सुर्खेत शाखाका संयोजक वीरबहादुर राउतले ताओ परम्पराले सबै धर्मलाई समेट्ने शिक्षा दिन्छ भने।

जिल्ला समन्वय अधिकारी रामबहादुर बुढाले ताओ मन्दिर स्थापना सुर्खेत बासीका लागि गौरवको विषय भएको बताए।

कार्यक्रममा करिब ५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो। मन्दिर स्थापना समाजिक रूपान्तरण र शान्तिपूर्ण सहअस्तित्वको प्रतीकका रूपमा लिइएको छ। ताओले यस वर्षभित्र ५०० कमल ब्लाङ्केट वितरण गर्ने योजना समेत घोषणा गरेको छ।