सुर्खेत – रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ मा आज दिउँसो ३ बजे एकै घरका दुई जनाको हत्या भएको छ। मृतकहरूमा ८ महिनाको समीर बुढा र ६० वर्षीया ढाँटी बुढा पर्छन्। उनीहरू नाति र हजुरआमा हुन्। घटनामा संलग्न ५१ वर्षीय चन्द्रसिङ पुनको पनि मृत्यु भएको छ।  

प्रहरी अनुसार, चन्द्रसिङले खुकुरी प्रहार गरेर दुवै जनाको हत्या गरेका थिए। हत्या गरेपछि भाग्ने क्रममा उनी भीरबाट खसेर सोही वडाको खुलखुले खोलामा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव घटनास्थलमै रहेको छ भने समीर र ढाँटीको शव रुकुमकोट जिल्ला अस्पतालमा राखिएको छ।  

घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले चन्द्रसिङले आत्महत्या गरेको आशंका जनाएका छन्। हत्याको कारण अहिलेसम्म नखुलेको र अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी माधवराज खरेलले जानकारी दिनुभएको छ।