सुर्खेत । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले त्रिपुरेश्वरमा आत्मदाह गरेका कर्णाली प्रदेश मुगुका गणेश नेपालीको परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

सांसद खड्काले आफ्नो तीन दिनको पारिश्रमिकसँगै थप रकमसमेत जोडेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा उनले मृतक नेपालीका परिवारलाई नगद सहयोग प्रदान गरे ।

केही समयअघि काठमाडौंको त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेका थिए । घटनापछि पीडित परिवारलाई सहयोग गर्ने घोषणा गरेका सांसद खड्काले आफ्नो प्रतिबद्धताअनुसार सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै खड्काले विपतको बेला गरिएको सानो सहयोगले पनि पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे । उनले मानवीय संवेदनाका आधारमा आफूले सहयोग गरेको बताएका हुन् ।