हिन्दू धर्ममा भगवान श्रीकृष्णलाई भगवान विष्णुको आठौं अवतारको रूपमा पूजा गरिन्छ। द्वापर युगमा पृथ्वीमा बढ्दो अधर्म, अन्याय र दुष्टहरूको अत्याचार हटाउन तथा धर्मको स्थापना गर्न भगवान विष्णुले मथुरामा कृष्णको रूपमा अवतार लिनुभएको मानिन्छ। उहाँको जन्म राजा कंसको कारागारमा देवकी र वासुदेवको सन्तानको रूपमा भएको थियो, तर जन्मपछि तुरुन्तै उहाँलाई गोकुलमा नन्द र यशोदाको काखमा लगिएको थियो, जहाँ उहाँको बाल्यकाल बित्यो। भगवान कृष्णको जीवन धेरै आयामहरूले भरिपूर्ण छ । बाल्यकालमा माखनचोर र गोपाल कृष्ण, युवावस्थामा गोपीहरूसँगको रासलीला र बाँसुरीको मधुर धुन, र पछि महाभारतको युद्धमा अर्जुनका सारथि र मार्गदर्शक। यिनै विविध रूपहरूका कारण कृष्णलाई “पूर्ण अवतार” पनि भनिन्छ।

कृष्ण जन्माष्टमी भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा मनाइन्छ, जुन दिन भगवान कृष्णको जन्म भएको मानिन्छ। यो पर्व नेपाल र भारतका हिन्दू समुदायहरूमा ठूलो श्रद्धा र उल्लासका साथ मनाइन्छ। यस दिन भक्तजनहरूले दिनभरि उपवास बसेर मध्यरातमा, अर्थात् कृष्णको जन्म भएको मानिने समयमा, पूजा गरेर व्रत तोड्छन्। मन्दिरहरूमा भजन-कीर्तन, भक्ति गीत, नृत्य र कथावाचन हुन्छ, र बाल कृष्णको मूर्तिलाई सिँगारेर पालनामा राखी झुलाइन्छ। विशेषतः भारतमा कृष्णको बाल्यकालको माखन चोर्ने लीलालाई सम्झेर दहीहन्डी जस्ता खेलहरू पनि खेलिन्छन्। घर र मन्दिरहरू रङ्गोली, फूल र बत्तीले सजाइन्छन्। यो पर्वले धर्म, सत्य र न्यायको विजयको सन्देश दिन्छ, र भक्तहरूलाई भगवानप्रतिको समर्पण र प्रेम व्यक्त गर्ने अवसर प्रदान गर्छ।

महाभारतको युद्धमैदानमा अर्जुनलाई दिनुभएको उपदेश भगवद्गीताका रूपमा संसारभर प्रसिद्ध छ, जसमा भगवान कृष्णले जीवन, कर्तव्य र आत्माको बारेमा गहन शिक्षाहरू दिनुभएको छ। उहाँले सिकाउनुहुन्छ कि मानिसले सधैं आफ्नो कर्तव्य र कर्म इमानदारीपूर्वक गर्नुपर्छ, तर परिणामको मोहमा नफसी फलको चिन्ता नगरी कर्म गर्नु नै वास्तविक बुद्धिमानी हो भन्ने उहाँको शिक्षा छ। शरीर नाशवान भए पनि आत्मा अमर छ भन्ने कुरा पनि कृष्णले बताउनुहुन्छ; जसरी पुरानो लुगा फालेर नयाँ लुगा लगाइन्छ, त्यसैगरी आत्माले पनि एक शरीर त्यागेर अर्को शरीर धारण गर्छ। मन नै मानिसको साथी र शत्रु दुवै हो, र जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्छ, त्यही व्यक्ति शान्ति र सफलता प्राप्त गर्छ भन्ने शिक्षा पनि उहाँले दिनुभएको छ। सुख-दुःख, हार-जित, लाभ-हानिमा समान भाव राख्नु नै साँचो योगी हुनुको लक्षण हो । यसैलाई कृष्णले समभाव नै योग हो भन्नुभएको छ। जो कोही सच्चा हृदयले भगवानको शरणमा जान्छ, उसलाई भगवानले सधैं रक्षा गर्नुहुन्छ भन्ने आश्वासन पनि कृष्णले दिनुभएको छ; जात, वर्ग वा स्थितिको भेदभाव बिना, प्रेम र भक्तिले नै मुक्तिको मार्ग खुल्छ। साथै, जब-जब धर्मको हानि हुन्छ र अधर्म बढ्छ, तब-तब भगवान स्वयं अवतार लिएर धर्मको स्थापना गर्नुहुन्छ भन्ने प्रतिज्ञा पनि कृष्णले गर्नुभएको छ, जसले असल कर्म र सत्यको अन्ततः विजय हुन्छ भन्ने आशा जगाउँछ।

कृष्ण जन्माष्टमी केवल एउटा धार्मिक पर्व मात्र होइन, यो जीवन कसरी धर्म, प्रेम, कर्तव्य र भक्तिका साथ बाँच्ने भन्ने कुराको सम्झना पनि हो। भगवान कृष्णका शिक्षाहरूले आजको आधुनिक युगमा पनि मानिसलाई कर्तव्यनिष्ठ, संयमी र सत्यमार्गी बन्न प्रेरणा दिइरहेका छन्।

जय श्री कृष्ण! 🙏