निजी बिधालयका शिक्षकहरु आन्दोलनमा उत्रिने चेतावनी
२५ भदौ,सुर्खेत ।
निजि तथा आवासीय विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुले गत साल चैत सम्मको तलब अहिले सम्म नपाएको भन्दै विभिन्न मागहरु राखी प्रेस विज्ञप्ति जारी गरेको छ ।निजि तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन सुर्खेतले पटक पटक जिम्मेवारी निकाएमा ध्यानाकर्षण गराउदा पनि कुनै वस्ता नगेरेको भन्दै विभिन्न माग जारी गर्दै माग पूरा नभए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
युनियका अध्यक्ष अर्जुन बुढा र सचिव श्यामप्रसाद सापकोटाद्धारा हस्ताक्षर गरिएको विज्ञप्ति जारी गर्दै निजि तथा आवासीय शिक्षक कर्मचारीको अधिकारको रक्षाका लागि र शैक्षिक क्षेत्रमा रहेका समस्या पहिचान गर्दै सरोकारवालाले समस्या समाधानमा पहल गर्न ध्यानाकर्षण गरेको छ ।
युनियले विभिन्न सात वटा बुँदाका मागहरुसहित सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, श्रम तथा रोजगार कार्यालय कर्णाली प्रदेश, जिल्ला प्रशासन कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, प्याब्सन जिल्ला समिति सुर्खेत र एन जिल्ला प्याब्सन सुर्खेतमा माग पत्र बुझाएको छ ।
मागपत्रमा प्याब्सन र एन प्याब्सन तथा पेशागत संगठनहरुबीच भएको राष्ट्रिय सहमति अनुसार निजि विद्यालयमा कार्यरत शिक्षक कर्मचारी श्रमिकहरुलाई गत वर्षको बाँकी तलब अविलम्बन दिलाउनुपर्ने, कुनैपनि बहानामा शिक्षक कर्मचारीलाई डर धम्की दिने निष्कासन गर्ने जस्ता कार्य तत्काल बन्द गर्न पनि पत्रमा उल्लेख छ ।
श्रम ऐन अनुसार शिक्षक कर्मचारी श्रमिकलाई स्थायी, अस्थायी र करार नियुक्ति प्रदान गरी रोजगारी सुनिश्चित गर्न पनि सरकारलाई ध्यानाकर्षण गरिएको छ ।
२०७३ सालमा सुर्खेतका निजि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पेशागत हक हित र अधिकार प्राप्ति र संरक्षणका लागि निजि तथा आवासीय विद्यालय शिक्षक कर्मचारी युनियन नेपालको स्थापना गरिएको थियो । अहिले यो युनियनमा देशभरका निजि तथा आवासीय विद्यालय तथा विद्यालयका कर्मचारी ,शिक्षक आवद्द छन् ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले विद्यालयबाट प्राप्त गर्नुपर्ने तलब भत्ता अन्य सेवा उपलब्ध नहुनु दुःखदायी रहेको युनियले बताएको छ ।
सुर्खेत जिल्लाका ९ वटै स्थानीय तहमा सन्चालित निजी तथा संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुलाई बेतलबी नराख्न युनियनका सुर्खेत जिल्ला अध्यक्ष अर्जुन बुढाले आग्रह गरेका छन ।
प्रतिक्रिया दिनुहोस्