सुर्खेत । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। मङ्गलबार दिउँसो सदरमुकाम खलङ्गाबाट भेरी नगरपालिका ६ भेरे जान लागेको ग १ ज ७७११ नम्बरको बोलेरो जिप सोही नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको हो।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बोलेरो जिप दुर्घटना भए लगत्तै उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिएका छन्। तर, क्षतिको सम्पूर्ण विवरण आइनसकेको उनले बताएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी माधव विश्वकर्माका अनुसार १७ जना यात्रु सवार जिपमा सबै घाइते भएका छन् भने ३ जना गम्भीर घाइते भएका छन्।

घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल जाजरकोट ल्याउने तयारी भइरहेको छ। जिपका चालक भेरी नगरपालिका ६ का मानबहादुर वली रहेको खुलेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।