कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले संसद र सञ्चार क्षेत्रको सम्बन्धलाई नङ र मासु जस्तै बलियो हुनुपर्ने बताएका छन्। सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित ‘संसदीय रिपोर्टिङ सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम’को अन्तिम दिन ‘संसद र सञ्चारको अन्तरसम्बन्ध’ विषयमा उनले अभिमुखीकरण गर्दै यस्तो बताएका हुन्।

सचिव बुढाथोकीले संसद र सञ्चार क्षेत्रबीच सशक्त सम्बन्धले लोकतन्त्रलाई मजबुत बनाउन मद्दत पुर्याउने बताए। उनले कर्णाली प्रदेशसभाले पत्रकारहरूको सहज पहुँच स्थापित गर्न निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै, खुला संसद अभ्यासमार्फत सञ्चारकर्मीहरूलाई संसदमा पहुँच दिन प्रयासरत रहेको जानकारी गराए।

तालिमका प्रशिक्षक तथा वरिष्ठ पत्रकार शिव गाउँलेले सञ्चार क्षेत्रले संसद र जनतालाई जोड्ने पुलको काम गर्नुपर्ने बताए। संसदको गतिविधिमा सञ्चारको निगरानी बढाउन आवश्यक रहेको भन्दै उनले आचारसंहिता र संसदीय मर्यादाको पालना गरेर समाचार लेख्न सञ्चारकर्मीहरूलाई सुझाव दिए।

तालिममा प्रशिक्षक विनु सुवेदीले संसदमा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताइन्। महिला सहभागितामात्र होइन, अन्य जातजातिको पनि संसदमा अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिँदै उनले सञ्चारकर्मीहरूलाई यो आवाजलाई प्राथमिकता दिन आग्रह गरिन्।

तालिमको समापनका क्रममा संसदीय मामिला पत्रकार समाज सुर्खेतका अध्यक्ष देव रानाले संसद र सञ्चारको सम्बन्धलाई अझ बलियो बनाउँदै संसदका गतिविधिहरू नागरिकमाझ पु¥याउन यस्ता तालिम आवश्यक भएको बताए। यूएनडीपीको संसद सहयोग परियोजनाको सहकार्यमा आयोजित तालिमको उद्घाटन कर्णाली प्रदेशसभाकी उपसभामुख यशोदा न्यौपानेले सोमबार गरेकी थिइन्। दुई दिने तालिमको समापन मंगलबार भएको हो।

तालिममा सहभागी २६ जना पत्रकारलाई प्रमाणपत्र वितरण गरिएको छ।