शक्ति समूहद्वारा सञ्चालित डाउन टु जिरो सुफासेक परियोजना अन्तर्गत बोइज इनिसिएटिभ सुर्खेतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पुरुषमा व्याप्त अव्यक्त समस्याहरू, बालक यौन उत्पीडन, पुरुष हिंसाका घटना, पहिचान र गोपनीयता, तथा पुरुष हिंसा न्यूनीकरणका कानुनी प्रावधानबारे विस्तृत छलफल गरिएको थियो।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पुरुष यौन हिंसा र पितृसत्तात्मक सोचका कारण समाजमा देखापरेका समस्याहरू न्यूनीकरणका विषयमा सरोकारवालासँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

शक्ति समूहद्वारा सञ्चालित डाउन टु जिरो सुफासेक परियोजना अन्तर्गत बोइज इनिसिएटिभ सुर्खेतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पुरुषमा व्याप्त अव्यक्त समस्याहरू, बालक यौन उत्पीडन, पुरुष हिंसाका घटना, पहिचान र गोपनीयता, तथा पुरुष हिंसा न्यूनीकरणका कानुनी प्रावधानबारे विस्तृत छलफल गरिएको थियो।

शक्ति समूहकी संस्थापक सदस्य चरिमाया तामाङका अनुसार पछिल्ला वर्षहरूमा शिक्षा, स्वास्थ्य, रोजगारी र प्रकोपका कारण पुरुषहरू पनि शारीरिक, मानसिक र यौन हिंसाका सिकार बन्दै गइरहेका छन्। विशेष गरी साना बालक र किशोर उमेरका युवामा यस्तो समस्या तीव्र बन्दै गएको उनले बताइन्।

बोइज इनिसिएटिभका सुर्खेत जिल्ला फोकल पर्सन वीरेन्द्र सोडारीले महिला अधिकारका नाममा पुरुषका अधिकार कमजोर भएको उल्लेख गर्दै, “महिलाको विवरण गोप्य राखिन्छ तर पुरुषको पहिचान खुला गरिन्छ, यो समानताको मर्म विपरीत हो,”उनले भने।

उच्च सरकारी वकिल कार्यालय सुर्खेतका लक्ष्मीनारायण दाहालले विदेश रोजगारीमा गएका पुरुषहरूको मानसिक समस्या, आत्महत्या र अप्राकृतिक मैथुनका घटना सुनिए पनि सामाजिक मान्यताका कारण सार्वजनिक नहुने बताए।

त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालयकी मनु आचार्यले पुरुषहरूमा मानसिक स्वास्थ्य समस्या र आत्महत्याको दर बढ्दै गएको बताउँदै, “पत्नी पीडित सङ्घ भन्ने सुन्दा हाँसो लाग्ला तर यो गम्भीर विषय हो,” भनिन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुवासकुमार खड्काले पुरुष हिंसासम्बन्धी छुट्टै कानुनी प्रावधान नभए पनि घटना प्रशासनमा आउँदा नीति निर्माण सहज हुने बताए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुट थापाले हनी ट्रयाप र नक्कली विवाहका घटनामा पीडित पुरुषलाई न्याय दिलाइएको अनुभव सुनाउँदै, यस्ता घटनामा प्रहरी तत्पर रहने बताए।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ, सामाजिक विकास मन्त्रालय, शिक्षा क्षेत्र, तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहित २५ जनाभन्दा बढी सरोकारवालाको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्