“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुर्खेत मोडेल एकेडेमी तेक्वान्दो डोजाङ्गको आयोजनामा जुनियर बेल्ट ग्रेडिङ्ग समारोह–२०८३ सम्पन्न भएको छ।

मिति २०८३ साल साउन ३१ गते सुर्खेत मोडेल कलेजमा आयोजित कार्यक्रममा तेक्वान्दो प्रशिक्षणरत जुनियर खेलाडीहरूको बेल्ट ग्रेडिङ्ग गरिएको थियो। कार्यक्रममा खेलाडीहरूले आफूले सिकेका तेक्वान्दोका विभिन्न सीप तथा कला प्रदर्शन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि सुर्खेत मोडेल कलेज सञ्चालक समिति अध्यक्ष प्रशुराम खड्काले खेलकुद विद्यार्थीको शारीरिक स्वास्थ्यसँगै अनुशासन, आत्मविश्वास र नेतृत्व विकासको महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले विद्यालय तहदेखि नै खेलाडीको प्रतिभा पहिचान गरी उचित अवसर र प्रोत्साहन दिन सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने धारणा व्यक्त गर्नुभयो। साथै, सुर्खेत मोडेलले अध्ययनसँगै खेलकुदलाई प्राथमिकतामा राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक भुवन थापाले तेक्वान्दो खेलले आत्मरक्षा मात्र नभई अनुशासन, धैर्यता, आत्मविश्वास र सकारात्मक सोचको विकास गराउने बताउनुभयो। उहाँले ग्रेडिङ्गलाई केवल बेल्ट परिवर्तन गर्ने प्रक्रिया नभई खेलाडीको मेहनत, क्षमता र अनुशासनको मूल्याङ्कन गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो। बालबालिकालाई सानै उमेरदेखि नियमित प्रशिक्षणमा सहभागी गराउन सके भविष्यमा उनीहरूले प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सक्ने उहाँको भनाइ थियो।

विशेष अतिथि सुर्खेत मोडेल कलेज तथा एकेडेमी सञ्चालक समिति सदस्य देवेन्द्र वाग्लेले विद्यालयमा खेलकुदको वातावरण निर्माण गर्न विद्यालय प्रशासन, शिक्षक, अभिभावक र खेलाडी सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले खेलाडीहरूको प्रतिभा विकासका लागि आवश्यक सहयोग र प्रोत्साहनमा संस्थाको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, सुर्खेत मोडेल एकेडेमीका प्रधानाध्यापक गौरी प्रसाद भट्टराईले विद्यालयको उद्देश्य केवल शैक्षिक उपलब्धिमा सीमित नभई विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकास गर्नु पनि रहेको बताउनुभयो। उहाँले खेलकुदलाई विद्यालय शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्दै विद्यार्थीको प्रतिभा पहिचान र प्रवर्द्धनमा विद्यालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अभिभावक, प्रशिक्षक र विद्यालयबीचको सहकार्यबाट मात्र विद्यार्थीको प्रतिभालाई सही दिशामा अघि बढाउन सकिने बताउनुभयो।

सुर्खेत मोडेल एकेडेमी तेक्वान्दो डोजाङ्गका प्रशिक्षक प्रविन बयकले ग्रेडिङ्ग कार्यक्रममा सहभागी खेलाडीहरूले निरन्तर अभ्यासबाट हासिल गरेको सीप प्रदर्शन गरेको बताउनुभयो। उहाँले खेलाडीहरूलाई आगामी दिनमा अझ व्यवस्थित र वैज्ञानिक प्रशिक्षण प्रदान गर्दै प्रतिस्पर्धात्मक स्तरमा अगाडि बढाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
कार्यक्रममा तेक्वान्दो खेलाडी, अभिभावक तथा विद्यालय परिवारको उत्साहजनक सहभागिता रहेको थियो। ग्रेडिङ्ग समारोहले विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह, आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक भावना थप विकास गरेको आयोजकले जनाएको छ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष तथा सुर्खेत मोडेल एकेडेमी का बिधालय ब्यबस्थापन समिति अध्यक्ष सुरजराज भन्डारीले सुर्खेत मोडेल एकेडेमीले अध्ययनसँगै खेलकुद, सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा जोड दिँदै आएको छ। आगामी दिनमा पनि तेक्वान्दो लगायत विभिन्न खेलकुदका माध्यमबाट विद्यार्थीहरूको प्रतिभा पहिचान, विकास र प्रवर्द्धन गर्ने विद्यालयको लक्ष्य रहेको बताउनु भएको थियो ।












प्रतिक्रिया दिनुहोस्