सुर्खेत, २०८३ असोज ७ गते। साना किसान कृषि सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर–३, उत्तरगंगा, सुर्खेतको ३०औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।संस्थाका अध्यक्ष श्रीमती विन्द्रा थापाको अध्यक्षतामा सम्पन्न साधारणसभामा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालयका शाखा प्रबन्धक श्री सविन लामिछाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष श्रीमती गौरा देवी गिरी लगायत सञ्चालक समिति, कर्मचारी तथा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका मुख्य प्रबन्धक श्री चित्रप्रसाद रेग्मीले आर्थिक वर्षको संस्थागत कारोबार तथा आर्थिक अवस्थाबारे जानकारी गराउनुभयो। उहाँका अनुसार संस्थाले रु. ५१ करोड ५१ लाख ९ हजार ४ सय ७७ बराबरको वार्षिक कारोबार गर्न सफल भएको जानकारी दिनुभयो।

त्यसैगरी, अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रीमती विन्द्रा थापाले संस्थाले वर्षभरि सञ्चालन गरेका विभिन्न गतिविधि, सेवा तथा कार्यक्रमहरूका बारेमा जानकारी गराउनुभयो। उहाँले संस्थाले आफ्ना शेयर सदस्यहरूलाई ६.५ प्रतिशत शेयर बोनस उपलब्ध गराउन सफल भएको जानकारी गराउँदै आगामी दिनमा सदस्यकेन्द्रित सेवा र संस्थाको दिगो विकासमा थप जोड दिने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि श्री सविन लामिछानेले सहकारी शिक्षा, वित्तीय साक्षरता तथा साना किसान कृषि सहकारीको भूमिका र महत्वका बारेमा जानकारी गराउँदै संस्थाको ३०औँ वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले सदस्यहरूलाई सहकारीका सेवा तथा सुविधाको प्रभावकारी उपयोग गर्दै वित्तीय अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो।

साधारणसभाका अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो। साथै, उत्कृष्ट बचत गर्ने एक समूहलाई गोला प्रथामार्फत छनोट गरी पुरस्कृत गरिएको थियो।

सभामा संस्थाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक योजना तथा कार्यक्रमहरू समेत प्रस्तुत गरेको थियो। आगामी वर्षमा संस्थाको सेवा विस्तार, सदस्यको आर्थिक तथा सामाजिक विकास, वित्तीय पहुँच अभिवृद्धि तथा सहकारीको संस्थागत सुदृढीकरणमा प्राथमिकता दिने जानकारी गराइएको थियो।

साधारणसभाले संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सदस्यहरूको आवश्यकता र हितलाई केन्द्रमा राखेर संस्थालाई थप प्रभावकारी तथा दिगो रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, शेयर सदस्य तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।