सुर्खेत । कर्णाली करिडोरमा सवारीका साधन चल्न थालेपछि आर्थिक चहलपहल बृद्धि भएको छ । करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको संम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो ।
कर्णाली करिडोरको लालीघाटदेखि थिर्पुको घाटपारी चौरसम्मको ४० किलोमिटर सडकखण्डमा सवारी साधन चल्न थालेका छन् ।
कर्णाली करिडोरको ४० किलोमिटर सडकमा यातायातका साधन चल्न थालेपछि कालिकोटका सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका र रास्कोट नगरपालिका ६० हजारभन्दा बढी जनसंख्या लाभान्दित भएका छन् भने बाजुराका करिब ४० हजार जनसंख्या यस करिडोर उपभोग गर्ने गरेका छन् ।
नेपाली सेनाले सडकको निर्माण कार्यलाई तीव्रता दिएपछि खुलालु, लालिघाट, रेगिल, सान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा लगाएतका क्षेत्रहरु अहिले बजारमा रुपमा विकसित भएका छन् ।
यी बजारहरुमा अहिले ब्यापारी केन्द्रका रूपमा स्थापित हुन थालेका छन् ।
सडक नहुँदा बिगतका दिनमा जितेगडा बजारसम्म आउने पिठ्युमा भारी बोकेर आउने यहाँका बासिन्दाहरु अहिले घरमा केही न केही ब्यापार ब्यवसायमा संग्लन गरेको कालिकोट उद्योग वाणिज्य संघका पूर्वबरिष्ठ उपाध्यक्ष मथुरा न्यौपाने बताए । ‘करिडोर क्षेत्रका धेरै ठाउँ अहिले बजारका रुपमा विकसित भएका छन् ।’ उनले भने, ‘विगतका पिठ्यु भारी बोकेर नुनतेल गर्ने करिडो क्षेत्रका बासिन्दाहरु अहिले गाडीमा सरर घरमा नै पुग्ने गरेका छन् ।’
२० सवारी साधनले सेवा दिन्छन्
कर्णाली करिडोरको ४० किलो मिटर र रास्कोट नगरपालिकामा अहिले रारा कर्णाली यातायात प्रा.लि.का १७ वटा जीप र बुलबुले यातायात प्रा.लि.का ३ वटा जीपहरुले यात्रुहरुलाई सेवा दिने गरेका छन् ।
त्यस्तै, नीजि मोटरसाइकल र अन्य यातायातका सेवाले स्थानीयको दैनिक पैलत हिड्नु पर्ने दैनिकीलाई समेत परिवर्तन गरेको छ ।
करिडोरको निर्माण र यातायातका साधन चल्न थालेपछि स्थानीयहरुले यातायातका साधन जीप र ट्रक किनेर ब्यवसायीक रुपमा राम्रो आम्दानी लिन थालेको रारा कर्णाली यातायात प्रा.लि.का अध्यक्ष हस्तबहादुर बलमे बताए । ‘करिडोरमा यातायातका साधन चल्न थालेपछि स्थानीयहरुले पनि सवारी साधन किनेर ब्यवसायीक रुपमा राम्रो आम्दानी लिएका छन् ।’ उनले भने,‘करिडोरको निर्माणले मानिसलाई ब्यवसायीक बन्न पनि सिकाएको छ । आम्दानी लिन पनि सिकाएको छ ।’
करिडोर क्षेत्रमा तरकारी खेती गर्ने बढे
कर्णाली करिडोरमा सवारी साधन चल्न थालेपछि आसपासका मानिसहरु अहिले तरकारी खेती गर्नेहरुको संख्यामा बृद्धि हुदैँ गएको छ । विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगारी गर्न जानेहरु अहिले तरकारी खेतीतर्फ आक्रर्षित भएका छन् ।
गाउँ गाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएकाले तरकारी खेती गर्न थालेको रास्कोट नगरपालिका–६ भात्तडीका किसान नरप्रसाद बरालले बताए । ‘विगतमा बारीमा तरकारी लगायो भने कसरी कता बेच्ने भन्ने चिन्ता हुन्थ्यो ।’ उनले भने,‘बारी छेउँमा नै बजार बनेको छ । कता बेचौं भन्ने समस्या छैन् ।’
आम्दानीको स्रोतमा बृद्धि
विगतमा परिवार पाल्न खेती किसानमा मात्र गर्ने करिडोर क्षेत्रका स्थानीयबासीहरुले बिभिन्न पेशा ब्यवसायमार्फत आम्दानी लिन थालेका छन् ।
विगत कुनै पनि उपाय नभएका मानिसहरुले अहिले बजार क्षेत्रमा होटेल ब्यवसाय अन्य ब्यापार गर्न थालेको मानिसहरुको आम्दानीमा बृद्धि भएको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए । ‘अहिले करिडोर क्षेत्रमा होटेल लगाएतका अन्य ब्यापार ब्यवसायको बृद्धि भएको छ ।’ उनले भने,‘मानिसहरुले अहिले राम्रो आम्दानी लिन थालेका छन् ।’
घर जग्गाको मूल्य अकाशियो
कर्णाली करिडोर क्षेत्रमा विगतमा सस्तो मुल्यमा बिक्रि नहुने जग्गा अहिले भने निकै महङ्गोमा बिक्रि हुने गरेको छ । करिडोर क्षेत्रमा पहलपहल बढेपछि ब्यापार ब्यवासाय गर्नका लागि पक्की घर बनाउन थालेपछि जग्गाको मुल्य बढेको हो ।
कर्णाली करिडोर क्षेत्रमा विगतमा कुनै मूल्य नभएका घर जग्गाको मूल्य अहिले निकै अकाशिएको छ । केही वर्षमा त किन्न नसकिने अवस्थामा पुग्ने पचालझरना जारकोट बजारका धर्मराज सेजुवालले बताए । ‘विगतमा यस क्षेत्रमा कसैले जग्गा किन्दैथे ।’ उनले भने, ‘अहिले यहाँ जग्गा किन्न मारामार हुने गरेको छ ।’
सडक छेउछाउमा भावी दिनमा ब्यापारको राम्रो संम्भावना देखेर व्यापारीलगायतका अन्य व्यवसायीले जग्गा किन्ने घरसमेत बनाउन सुरु गरेको रास्कोट नगरपालिका स्थानीय तथा नागरिक समाजका अगुवा अम्मलराज शाहीले बताए । ‘विकटका गाउँबस्ती अहिले सहरका रूपमा बढेका छन् ।’ उनले भने,‘विगतको भन्दा अहिले आर्थिक चहलपहल पनि निकै बढेको छ ।’
त्रिदेशीय नाका
कर्णाली करिडोर अहिले त्रिदेशीय नाका पनि हो । चीन र भारतको त्रिदेशीय ब्यापारिक केन्द्रका रूपमा लिइएको कर्णाली करिडोरमा कर्णालीका मानिसका लागि लाइफलाइन नै भएकाले निर्माण कार्य सुरु भएपछि करिडोर क्षेत्रमा बसोबास र आर्थिक चहलपहल बढेको कालिकोट थिर्पुका स्थानीय खेमराज रोकायाले बताए । ‘करिडोर त्रिदेशीय ब्यापारी केन्द्र बन्नेमा धेरैको आशा रहेको छ । कर्णालीका मानिसका लागि लाइफलाइन हो ।’ उनले भने, ‘त्यसले गर्दा अहिलेभन्दा आर्थिक चहलपहल आउँदा दिनमा बढी हुनेछ ।’
विगतमा कर्णालीमा कुनै सम्भावना नदेखेर तराईलगायतका क्षेत्रमा बसाइँ सराइ गर्नेले करिडोर क्षेत्रमा भावी संम्भावना देखेर जग्गा खरिद गर्ने गरेको कांग्रेस कालिकोटका महासमिति सदस्य मोतीराज बमले बताए । ‘विगतमा कर्णालीमा सम्भावना नदेखेर अन्य क्षेत्रमा बसाइँ सराइ गरेकाहरूले अहिले यहाँ आएर जग्गा खरिद गर्ने गरेका छन् ।’ उनले भने, ‘यसले गर्दा अब मानिसले कर्णालीको सम्भवना देख्न थाले ।’
खर्च करोडौ भयो सेना जिम्म पाएपछि कामले तिब्रता पायो
करिव ११ वर्ष अगाडिदेखि सडक विभागले काम थालेको कर्णाली करिडोरमा ठेकेदारमार्फत करिब २३ करोड बजेट खर्च गरे पनि अपेक्षित रूपमा काम भएको थिएन । कामले तीव्रता नपाउँदा स्थानीयवासीेले आन्दोलन गरी २०७१ साल चैत ५ गते नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट नेपाली सेनाले २०७२ चैत ९ गतेबाट निर्माण कार्यको सुरुवात गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘कर्णाली करिडोरमा ठेकेदारमार्फत करोडौं खर्च भयो ।’ उनले भने, ‘अहिले नेपाली सेनाले जिम्मा लिएपछि निर्माण कार्यले तीव्रता पाएको छ ।’
लालिघाटदेखि बाजुराको अर्थिङगे चौरसम्मको ६८.५ किमि सडकको आंशिक ट्रयाक खुल्ला हुने भएको छ । आउने आर्थिक वर्षको दोस्रो चौमासिकसम्म कर्णाली करिडोरको कालिकोट खण्ड ४० किमि ट्र्याक ओपन गरी सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भएको नेपाली सेनाका कर्णाली करिडोर निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए । ‘कर्णाली करिडोर कालिकोट खण्ड ४० किमि, बाजुरा खण्ड ४३ किमि र हुम्ला खण्ड ११३.३४७ किमि गरी १९६.३४७ किमि रहेको छ ।’ उनले भने, ‘योमध्ये कालिकोट सडक खण्डको निर्माणकार्य यसै वर्ष पूरा गर्ने लक्ष्य लिएका छौं ।’
वि.सं २०५७ सालमा कालिकोट करिडोरको शिलान्यास गरिएको थियो । शिलान्यास भएको १५ वर्षपछि सेनाले उक्त सडक निर्माणको जिम्मा पाएको हो ।
कर्णालीमा पुल नबन्दा समस्या
कर्णाली करिडोर अन्र्तगतको खुलालुमा रहेको पुल समयमै नबन्दा समस्या भएको छ । कर्णाली नदीको खुलालुमा पुल नबन्दा खुलालुदेखि लालीघाटसम्मको १ किलो मिटर ट्याक ओपन हुन सकेको छैन् ।
पुल नबनेका कारणले अहिले जितेगडामा रहेको फेरीबाट सवारी साधनहरुलाई कर्णाली नदी वारपार गर्ने गरेका छन् ।
कर्णाली नदीमा पुल बन्न नसक्दा अहिले खुलालुदेखि लालीघाटसम्मको १ किलोमिटर चट्टानी भागलाई खोल्न समस्या भएको करिडोर निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए । ‘खुलालुमा पक्की पुल नबन्दा समस्या भएको छ । हामीले १ किलोमिटर कडा चट्टानी भाग ओपन गर्ने हो भने त्यसको असरले झोलुङ्गे पुल र फेरी भत्किने संम्भावना रहेको छ ।’ उनले भने,‘खुलालुमा रहेको पक्की पुल बन्यो भने एक महिना भित्र नै खुलालुदेखि लालीघाटसम्मको ट्याक गछौं ।’