सुर्खेत। दिनहुँ कोरोना सङ्क्रमित बढ्ने क्रमसँगै आइतबार पनि कर्णालीमा ६१ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यद्यपि २० जना मात्र कोरोना सङ्क्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ५८ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा तीन गरी ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

‘६१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या तीन हजार ८४१ पुगेको छ’, कँडेलले भने, ‘तीन हजार ११० व्यक्ति भने सङ्क्रमणमुक्त भएका छन् ।’ सङ्क्रमितमा सुर्खेतका ५२, दैलेखका छ तथा कालीकोट, जाजरकोट र रुकुम ९पश्चिम० का एकएक व्यक्ति रहेको उनले बताए ।

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका ४८, एनसिसी बैंकका चार, विद्यार्थी दुई तथा आँखा अस्पताल, नेपाल टेलिकम, व्यापार र मजदूरी क्षेत्रका एकएक व्यक्ति छन् । दैलेखमा भने तीन नागरिकमा सङ्क्रमण देखिएको उनले जनाए ।