काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एक घण्टा छलफल भएको छ । उनीहरूबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । नेकपाभित्र दुवै अध्यक्षको शक्ति संघर्ष चलिरहेका बेला उनीहरूको भेतवार्ता भएको हो । 

‘उहाँ (दाहाल)आउनुभएको थियो । दुई जनाबीच एक घण्टा कुराकानी भयो । तर, मिडियामा भन्नेगरिको कुनै निश्कर्ष आएको छैन’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

यसअघि दुई अध्यक्षबीच सचिवालय बैठक बस्नुअघि २० मंसीरमा बालुवाटारमै संवाद भएको थियो । त्यसअघि २५ कात्तिकदेखि उनीहरूबीच कुनै संवाद भएको थिएन ।

बुधबारको भेटमा स्थायी कमिटी बैठक र पार्टीभित्रको संकट समाधानका विषयमा दुई अध्यक्षबीच कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

‘स्थायी कमिटी बैठक, पार्टीभित्रको समस्यालगायका विषयमा सामान्य कुराकानी भयो’, सापकोटाले भने । 

२१ मंसीरदेखि नेकपाको स्थायी कमिटी बैठक शुरू भएको थियो । बैठक २८ मंसीरमा बस्नेगरी त्यसैदिन स्थगित गरिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए । तर, उनले आफू बैठकमा नआउनुको कारण खुलाउँदै स्थायी कमिटीलाई पत्र लेखेका थिए ।

उनले अध्यक्ष दाहालले आफूविरुद्ध पेश गरेको ‘अभियोग–पत्र’मा छलफल हुन नसक्ने र त्यस्ता छलफलमा आफू सहभागी नहुने बताएका थिए ।

त्यो दिनको बैठकमा दुवै अध्यक्षका प्रस्ताव र पत्रलगायतका दस्तावेज सदस्यहरूलाई बाँडिएको थियो। पार्टीको आन्तरिक समस्याबारे अजेण्डा तय गरिएको थियो । 

यसबीचमा पार्टीभित्रको संकट समाधानका लागि नेताहरूबीच औपचारिक, अनौपचारिक संवाद जारी राख्ने विषयमा बैठकमा छलफल भएको थियो । सोही अनुसार अध्यक्ष दाहाल बुधबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।