सुर्खेत। भिजिट कर्णाली यातायात प्रा.लि.ले डिजिटल प्रविधिमार्फत सेवा दिन अनलाइन एप्स सार्वजनिक गरेको छ। मङ्गलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले ‘भिजिट कर्णाली यातायात एप्स’ र ‘भिजिट कर्णाली यातायात डट कम डट एनपि’ नामक अनलाइन पोर्टलको शुभारम्भ गरेको हो।

कम्पनीका अध्यक्ष प्रकाश कुमार शाहीले २१ औं शताब्दीमा समयको मागअनुसार यातायात सेवा आधुनिक बनाउँदै डिजिटल माध्यमबाट सहज बनाउन यो एप्स सञ्चालनमा ल्याइएको बताए। यात्रुहरूले अब गाडीको टिकट बुकिङको लागि बसपार्कसम्म धाउनु नपर्ने र सहजै अनलाइनबाट टिकट बुक गर्न सकिने सुविधा पाइने उनले जानकारी दिए।

अध्यक्ष शाहीले आगामी चाडपर्व नजिकिँदै गर्दा बसपार्कहरूमा हुने भीडभाड, जबरजस्ती टिकट किन्नुपर्ने, तानातान तथा दोहोरो टिकट काट्ने जस्ता समस्याहरूको अन्त्य गर्न यो एप्सले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।उक्त एप्सलाई प्ले स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिने छ। एप्सको सुरुवातसँगै भिजिट कर्णाली यातायातले आफ्ना सेवाहरूलाई स्तरीय, भरपर्दो र सुरक्षित बनाउन प्रतिबद्ध रहेको बताउँदै, हालसम्म २३ जना वृद्धा र १५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुट प्रदान गरिसकेको अध्यक्ष शाहीले थपे।

भिजिट कर्णाली यातायात प्रालिले २०८० पुस २४ गतेदेखि ‘समृद्ध कर्णालीका लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णाली’ भन्ने नाराका साथ यातायात सेवा सञ्चालन गर्दै आएको छ। हाल कम्पनीसँग ४६ वटा गाडीहरू सञ्चालनमा छन्।