सुर्खेत । इन्द्रेणी फाउन्डेसनले सुर्खेतमा निर्माणाधीन मानवसेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन निर्माणार्थ १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेको छ।

फाउन्डेसनका अध्यक्ष कृष्ण कँडेलले महायज्ञमा सहभागी हुँदै मानवसेवा आश्रमको कार्यको प्रशंसा गर्नुभयो। उहाँले आश्रमका अध्यक्ष रामजी अधिकारीको योगदानलाई स्मरण गर्दै मानव सेवाका लागि आश्रमले खेलेको भूमिकाप्रति गर्व व्यक्त गर्नुभयो। महायज्ञमा बोल्दै उहाँले मानवताको सेवाका लागि इन्द्रेणी फाउन्डेसनले सधैं साथ दिने बताउनुभयो।

सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चमा मंसिर २१ गतेदेखि सुरु भएको श्रीमद् भागवत्  सप्ताह ज्ञान–विज्ञान महायज्ञ मंसिर २८ गतेसम्म चल्नेछ। आश्रमले प्रदेशस्तरीय भवन निर्माणको लागि आर्थिक सहयोग जुटाउन महायज्ञको आयोजना गरेको हो।

फाउन्डेसनको सहयोगसँगै महायज्ञमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले पनि सहयोग प्रदान गरेका छन्। महायज्ञमा उपस्थित भई सहयोग गर्ने सबैलाई कँडेलले धन्यवाद ज्ञापन गर्नुभएको छ।