गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा कुनै अमानवीय व्यवहार नभएको स्पष्ट गर्नुभएको छ।
आइतबार चितवनको भरतपुरमा प्रेस युनियन चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सरकारको रवि लामिछानेप्रति कुनै प्रतिशोध नरहेको र अनुसन्धान संविधान र कानुनअनुसार नै अघि बढिरहेको बताउनुभयो। उहाँले अनुसन्धान प्रक्रियामा प्रश्न उठाउनुले अनुसन्धानलाई प्रभावित गर्न सक्ने चेतावनी पनि दिनुभयो।
उहाँले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा राज्यका निकायहरूले सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको जानकारी गराउँदै, यो प्रक्रिया निष्पक्ष र पारदर्शी रहेको दाबी गर्नुभयो।
गृहमन्त्री लेखकले मुलुकलाई शान्ति, सुशासन, विकास, र समृद्धिको मार्गमा अघि बढाउन प्रमुख राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको उल्लेख गर्दै वर्तमान सरकारको स्थायित्वलाई जोड दिनुभयो। उहाँले संविधानलाई थप सुदृढ बनाउन संशोधनको तयारी भइरहेको र यसका लागि सबै दलहरूसँग छलफल गरिने जानकारी दिनुभयो।
लेखकले वर्तमान सरकार परिवर्तन हुने सम्भावना नरहेको र २०८४ सालसम्म दुईदलीय सहमतिअनुसार काम गरिने बताउँदै सरकारको प्राथमिकता दीर्घकालीन स्थायित्व र विकास रहेको बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्