सुर्खेत। लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलन, महिला अधिकार, वर्ग संघर्ष तथा सामाजिक परिवर्तनका क्षेत्रमा सक्रिय रहँदै आएकी संघर्षशील महिला नेतृ पार्वती वि.क. (अनुयात्री) नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन्। रुकुममा जन्मिएकी अनुयात्रीले विगत करिब दुई दशकभन्दा लामो राजनीतिक यात्रामा विभिन्न कम्युनिष्ट पार्टी तथा संगठनमा रहेर जिम्मेवारी सम्हाल्दै आएकी छन्। उनले राजनीतिक जीवनमा आफूले हासिल गरेका अनुभव, संघर्ष र वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कनपछि नेपाली कम्युनिष्ट पार्टी रोजेको बताएकी छन्।

उनले वि.सं. २०५७ सालमा नेकपा माओवादीको पार्टी सदस्यता लिएकी थिइन् भने २०५८ सालदेखि पूर्णकालीन कार्यकर्ताका रूपमा राजनीतिक तथा संगठनात्मक जिम्मेवारीमा सक्रिय रहिन्। त्यसपछि उनले संगठन, मिलिसिया तथा विभिन्न जनसंगठनमा जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा अघि बढाएकी थिइन्। जनयुद्धकालीन कठिन परिस्थितिमा समेत सक्रिय रहेकी अनुयात्रीले वि.सं. २०६० सालमा रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा तत्कालीन शाही नेपाली सेनाको घेराबाट उम्कन सफल भएको आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण संघर्षपूर्ण अनुभवका रूपमा स्मरण गरेकी छन्।

शान्ति प्रक्रिया सुरु भएपछि पनि उनी पार्टीको महिला विभाग तथा विभिन्न संगठनात्मक जिम्मेवारीमा सक्रिय रहिन्। वि.सं. २०७३ साल माघ २० गते उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टीमा प्रवेश गरेकी थिइन्। विप्लव नेतृत्वको पार्टीमा रहँदा उनले जनसरकारको सभामुख, नगर इन्चार्ज, जनमुक्ति सेना, महिला नेतृ, केन्द्रीय सदस्य, कर्णाली प्रदेश महिला इन्चार्ज तथा केन्द्रीय पार्टी आयोजक समिति सदस्यलगायत विभिन्न जिम्मेवारी सम्हालेकी थिइन्।

विगत करिब १२ वर्षसम्म उक्त पार्टीमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेको बताउँदै अनुयात्रीले राजनीतिक संघर्षका क्रममा गिरफ्तारी, विभिन्न मुद्दा तथा चुनौतीहरू समेत सामना गरेको उल्लेख गरेकी छन्। उनले आफ्नो राजनीतिक निर्णयबारे प्रतिक्रिया दिँदै भनिन्, “अन्याय, अत्याचार र विभेदविरुद्ध आवाज उठाउने क्रममा म राजनीतिमा प्रवेश गरेकी हुँ। राजनीतिक परिस्थितिको मूल्याङ्कन र आफ्नो अनुभवका आधारमा मैले अब नेपाली कम्युनिष्ट पार्टी रोज्ने निर्णय गरेकी छु।”

उनले नेपालका सम्पूर्ण वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध हुन समेत आग्रह गरेकी छन्। “अब साना-साना कम्युनिष्ट पार्टी खोलेर जनतालाई थप निराश बनाउने होइन। देश, जनता र परिवर्तनका लागि सम्पूर्ण वामपन्थी शक्तिहरू एउटै ठाउँमा गोलबद्ध हुन आवश्यक छ,” उनले भनिन्। संघर्षशील महिला नेतृका रूपमा परिचित अनुयात्रीले आफ्नो राजनीतिक यात्रालाई क्रान्तिकारी विचार, बलिदान, संघर्ष तथा जनताप्रतिको प्रतिबद्धताको निरन्तरताका रूपमा अघि बढाउने बताएकी छन्। रुकुमजस्तो जनयुद्धको इतिहास बोकेको जिल्लाबाट राजनीतिक संघर्ष सुरु गरेकी अनुयात्रीले गरिब, उत्पीडित, महिला, दलित तथा विभेदमा परेका समुदायको अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको राजनीतिक सहकर्मीहरू बताउँछन्। वर्गीय विभेद, जातीय छुवाछूत, सामाजिक अन्याय र असमानताविरुद्धको संघर्षमा सक्रिय अनुयात्रीले महिला नेतृत्वलाई नीति निर्माण तहसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउँदै आएकी छन्। उनले समावेशी लोकतन्त्र, सामाजिक न्याय, समान अधिकार, महिला सशक्तीकरण तथा समाजवाद उन्मुख समृद्ध नेपालको निर्माणका लागि आफ्नो राजनीतिक संघर्ष निरन्तर रहने बताएकी छन्।

“राजनीति सजिलो बाटो होइन। तर संघर्ष, बलिदान र कम्युनिष्ट आन्दोलनका मूल्य-मान्यता बोकेको महिला नेतृत्वका रूपमा जनताको पक्षमा निरन्तर उभिरहनेछु,” उनले बताइन्। उनको नेपाली कम्युनिष्ट पार्टी प्रवेशलाई रुकुम, कर्णाली प्रदेश तथा महिला आन्दोलनमा सक्रिय राजनीतिक वृत्तले महत्वपूर्ण राजनीतिक घटनाका रूपमा लिएको छ। संघर्ष, जनताप्रतिको प्रतिबद्धता तथा सामाजिक न्यायको मुद्दामा लामो समयदेखि सक्रिय अनुयात्रीको नयाँ राजनीतिक यात्रा महिला नेतृत्व र समावेशी राजनीतिक आन्दोलनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।