सुर्खेत, । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका स्थित ५६ किलो भन्ने स्थानमा बिहीबार साँझ काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। ठक्करपछि गम्भीर घाइते भएकी ती महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा गए राति मृत्यु भएको हो। प्रहरीका अनुसार ती महिलाको नाम र ठेगाना नखुलेको भए पनि उनी सडकमा मागी हिँड्ने बताइएको छ। बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका निवासी ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यस्तै, नमोबुद्ध नगरपालिका स्थित दाप्चा खोलाको दहमा बिहीबार अपराह्‍न १३ वर्षीया बालिका खुसी न्यौपाने मृतावस्थामा फेलापरेकी छन्। उनी घरबाट हराएको खबर प्राप्त भएलगत्तै खोजीमा निस्किएको प्रहरीले घटनास्थलमा शव फेला पारेको हो। प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

धरानमा पनि बाढीले १४ वर्षीय बालकको ज्यान लिएको छ। भारी वर्षाका कारण आएको भेल बाढीले धरान उपमहानगरपालिका पृथ्वीचोक निवासी रोशन लिम्बूलाई बगाउँदा उनको मृत्यु भएको हो। विद्यालयबाट घर फर्कने क्रममा उनलाई बाढीले बगाएको र दुई किलोमिटर तल झाडीमा अडकिएको अवस्थामा उनको शव फेला परेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो।