सुर्खेत – कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारलाई आठ बुँदे सहमति कार्यान्वयन नगरे सरकार छाड्ने चेतावनी दिएका छन्।

सोमबार पाँचौँ अधिवेशनको पहिलो बैठकमा उनले सरकारमा बसिरहँदा अन्याय सहन नसकिने भन्दै सहमति कार्यान्वयनको माग गरेका हुन्। शाहीले गठबन्धनको पवित्रतामाथि प्रश्न उठ्दै गएको र अन्याय सहेर सरकारमा बस्न नसकिने भन्दै सहमति कार्यान्वयनबारे मुख्यमन्त्री यमलाल कँडेलसँग स्पष्टिकरण माग गरेका छन्।

बैठकमा शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाको कामप्रति असन्तुष्टि जनाउँदै बर्खास्तीको माग गरे। उनले मन्त्रीले आफ्नो जिम्मेवारी पूरा नगरेको र नेताको फोन समेत नउठाएको आरोप लगाए। ‘मन्त्रीलाई बर्खास्त नगर्ने हो भने कांग्रेसले सरकारमा बस्ने कि नबस्ने गम्भीरतापूर्वक सोच्नुपर्नेछ,’ उनले भने।

शाहीले सदनलाई निष्क्रिय बनाइएको भन्दै संघीयताको प्रभावकारी कार्यान्वयनमा सरकार चुकेको आरोप लगाए। उनले संघका सचिवहरूले मन्त्रीलाई अज्ञानी ठानेको भन्दै संघीयतालाई कमजोर बनाउने प्रयास भइरहेको धारणा राखे। ‘हामी दलका नेताको दास बनेर संघीयता कार्यान्वयन गर्न सक्दैनौँ। यस्तो अवस्थामा कर्णाली प्रदेश संघीय नेपालभित्र पर्दैन त?’ उनले आक्रोश व्यक्त गरे।

नेता शाहीले सहमति कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने र यदि माग पूरा नभए सरकारबाट बाहिरिने दृढता व्यक्त गरेका छन्।