सबै युवाहरूलाई एकजुट भएर हातेमालो गर्न आह्वान गर्दै उज्यालो नेपाल पार्टीका कर्णाली प्रदेश संयोजक ठम्बर बिष्टले युवाको जागरणबिनाको परिवर्तन सम्भव नहुने बताएका छन्।
उनका अनुसार “जेन्जी आन्दोलन कुनै क्षणिक नारामात्र होइन, यो वास्तविक परिवर्तन र दिनदुखी जनताको आवाजको संवाहक हो।” उनले स्पष्ट पारे कि वर्तमान निर्वाचन प्रक्रिया साबिकझैँ पार्टी वा व्यक्तिको नाममा मतदान गर्ने अभ्यासबाट बाहिर निस्कनुपर्ने अवस्था आएको छ।

बिष्टले इतिहासलाई स्मरण गर्दै भने, “फ्रान्सेली क्रान्ति, बोल्सेभिक क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम, रंगभेदविरुद्धका आन्दोलनदेखि लिएर नेपाली क्रान्तिहरू समेत युवा जागरणकै बलमा सफल भएका हुन्।” त्यसैले आज पनि युवाहरू सचेत र संगठित भए परिवर्तन अवश्य सम्भव हुने उनको धारणा छ।उनले पार्टीको नाम र झण्डाभन्दा माथि उठेर योग्य उम्मेदवार छान्न बहस केन्द्रित गर्नुपर्नेमा जोड दिए।

“पार्टी आफैं बोल्दैन, उम्मेदवारको क्षमता, चरित्र र प्रतिबद्धताले मात्र देशको भविष्य बोल्छ,” उनले भने।बिगतका गल्तीहरू दोहोर्याउन नहुने भन्दै बिष्टले चेतावनीसमेत दिए—“हामीले हतारमा गलत निर्णय गर्ने अनि पछि फुर्सदमा आँसु बगाउने परम्परालाई तोड्नैपर्छ। योग्य उम्मेदवार छनोट गर्ने यो ऐतिहासिक अवसरबाट चुक्न हुँदैन।”उज्यालो नेपाल पार्टीका कर्णाली प्रदेश संयोजकसमेत रहेका ठम्बर बिष्ट हाल सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन्।





प्रतिक्रिया दिनुहोस्