सुर्खेत । नेपाल कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले देशमा कोरोना महामारी बेला संसदको महत्वपूर्ण बहसबाट सरकार भागेको आरोप लगाएका छन् । सामाजिक संजाल फेसबुकमा महामन्त्री खड्काले सरकार संसदबाट हठात भागेको आरोप लगाएका हुन् ।
कांग्रेस लगाएतका अन्य प्रतिपक्ष दलहरुले जनताको हितमा बहस चलाइरहेको बेला सरकार भागेको बताए । ‘कोरोनाको महामारीको बीचमा देश र जनताको हितमा प्रमुख प्रतिपक्षसहितका दलले संसदमा महत्वपूर्ण बहस चलाईरहेकै अबस्था थियो ।’ उनले भने,‘हठात संसद बन्द गरि संसदबाट भागेको सरकारलाई संसदमा आउन बाध्य पार्न अब ढिला गर्नु हुन्न ।’
सरकारले दशै लगत्तै बोलाउनु पर्ने र त्यसका लागि कांग्रेसले पहल गर्ने बताए । ‘अब प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका संसदमा बिपक्षमा रहेका दलको सहमतिमा दशंै लगत्तै संविधानको ब्यबस्था अनुसार संसदको बिशेष अधिबेशन बोलाउनुको बिकल्प छैन ।’ उनले भने,‘प्रमुख प्रतिपक्षको नाताले बिना बिलम्ब कांग्रेसले यसको अग्रसरता लिनुपर्छ ।’