तेह्रथुम । टिकटक बनाउने क्रममा खोरङ्वा खोलामा चिप्लिएर दुईजनाको मृत्यु भएको छ। मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार, शनिवार बिदा मनाउन उनीहरू खोरङ्वा खोलामा गएका थिए। खोलाको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेपछि उनीहरू खोलामा बगेका थिए।

घटनापछि खोजी कार्यमा जुटेको प्रहरी टोलीले आज साँझ दुबै जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख चिनिमाया तामाङले जानकारी दिएकी छन्। मृतकका शव आइतवार मात्रै परिवारजनलाई हस्तान्तरण गरिनेछ।