काठमाडौं, बैशाख ११ — नेकपा माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहानदेखि बैठक जारी रहेको हो।

बैठकमा भोलिदेखि सुरु हुने संसद्को बजेट अधिवेशनलाई लिएर पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे गहिरो छलफल भइरहेको छ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयकलगायत संसद्मा प्रस्तुत हुन लागेको महत्वपूर्ण विधेयकहरूप्रति पार्टीको धारणा र व्यवहारबारे केन्द्रित छ।

बैठकमा बजेट अधिवेशनमा पार्टीले जनमुखी र परिवर्तनमुखी एजेन्डा उठाउने तयारी गरेको बताइएको छ। साथै, माओवादी केन्द्रले सरकारलाई दिगो र जनउत्तरदायी बनाउन आफ्नो भूमिका मजबुत बनाउने विषयमा समेत छलफल गरिरहेको स्रोतले जनाएको छ।